बन्ने भयो ‘पर्खि बसें’ को सिक्वेल



गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सुपरहिट चलचित्र ‘पर्खि बसें’ को नयाँ सिरिज दर्शकमाझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा ‘पर्खि बसें २’ निर्माण गर्न लागेको हो । गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटाबीच विहिबार सहमती भएको हो ।

चलचित्रमा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । विक्रम संवत २०६४ को चैत्र अन्तिममा प्रदर्शनमा आएको चलचित्र ‘पर्खि बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।

पहिलो सिरिजझैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए । चलचित्रलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । चलचित्रमा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो ।

गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ‘माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जादैछ । त्यसपछि यो टिमको ‘पर्खि बसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ । यसको रिलिज २०७७ सालमा हुनेछ । ‘पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो सिरिज दर्शकमाझ आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu