आफ्नो नामलाई ब्रान्ड बनाइसकेका निर्देशक सुदर्शन थापा निर्देशित नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आउँदो फागुन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले क्याप्टेनसिप सम्हालेका कारण पनि यो चलचित्रको दर्शकमा व्यग्र प्रतिक्षा छ । चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । चलचित्रलाई प्रदर्शन अगावै ‘स्योर सट हिट’ भनिन थालिएको छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको प्रचार-प्रसारलाई तिव्र बनाइएको छ । चलचित्रको दुई गीत ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ अहिले चर्चाको शिखरमा छ । सुदर्शन निर्देशित अघिल्ला चलचित्रका गीतझैँ यो फिल्मका गीत पनि जबरजस्त हिट भएका छन् । ‘तिम्रो घरको वरिपरि’ लाई ५५ लाख र ‘दुःखको काँडा’ गीतलाई यूट्युबमा १२ लाखभन्दा बढीले हेरिसकेका छन् ।

यूट्युबको कमेन्ट बक्समा यी दुई गीतलाई नराम्रो लेख्ने कमै छन् । अडियो र भिडियो दुवै बलियो रहेको गीतको भिडियोमा फिचर्ड पल र पूजाको जोडीलाई दर्शकले निकै रुचाएका छन् । ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ गीतले चलचित्रको हाइप निर्माणमा पनि ठूलो भूमिका खेलेको छ । गीतले पाएको सफलता हेर्दा चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गर्ने देखिन्छ ।
गीत लोकप्रिय हुँदै गर्दा निर्माण टिममाथि चुनौती पनि थपिएको छ । गीतका कारण दर्शकको चलचित्रप्रति जुन प्रकारको आशा र अपेक्षा बढेको छ, त्यसमा खरो उत्रन निर्माण टिमका लागि सहज अवश्य छैन । साथै, ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल भएका कारण दर्शकको चलचित्रप्रति चरम उत्साह छ । निर्देशक सुदर्शन थापा चलचित्रले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् ।
‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । पूजा र सुदर्शन निर्माता रहेको चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन छ । चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत छ ।




