सुपरहिट तेलुगू चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्ने भएको छ । यो चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति युवा फिल्म्सले लिएको छ । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो चलचित्रको हिन्दी रिमेक समेत निर्माण भैसकेको छ । चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ २०१९ को ब्लकबस्टर चलचित्र हो । चलचित्रमा शाहिद कपूरले प्रमुख भूमिका निभाएका थिए । ओरिजिनल चलचित्रमा भने अभिनेता विजय देवगरकोन्डा प्रमुख भूमिकामा थिए । उनलाई यही चलचित्रले रातारात स्टार बनाएको थियो ।

सन्दीप रेड्डी भांगाले निर्देशन गरेको चलचित्रले तेलुगू बक्सअफिसमा ५१ मिलियन कमाई गरेको थियो । ओरिजिनल र हिन्दी रिमेक दुवैले सफलता पाएका कारण ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बनाउनु चुनौतीपूर्ण काम रहेको युवा निर्माता केशव खड्का बताउँछन् ।
‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशकदेखि कलाकार कोही फाइनल भएका छैनन् । केही दिनमा यसको टुंगो लाग्ने निर्माण टिमले बताएको छ । सम्भवतः पहिलो पटक विदेशी फिल्मको राइट्स लिएर नेपाली फिल्म निर्माण हुन लागेको हो ।




