नयाँ चलचित्रमा अभिनेता द्वय सौगात मल्ल र दयाहाङ राईसँग अभिनेत्री रेखा थापाको टिमअप भएको छ । माघे संक्रान्तिको शुभकामना दिँदै रेखाले यो कुरा खुलाएकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । बैशाखबाट फ्लोरमा जाने चलचित्रको नाम भने तय नभएको रेखाले बताइन् । चलचित्रमा उनको पनि अभिनय रहनेछ ।
यसअघि रेखाले रेनशा वान्तवा राईलाई निर्देशनको जिम्मेवारी दिँदै नयाँ चलचित्रको घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको चलचित्र ‘आइ एम ट्वान्टिवान’ मा व्यस्त हुने भएपछि रेखाले सविरसँगको प्रोजेक्ट अगाडि निर्माण गर्न लागेकी हुन् । रेनशासँगको चलचित्र अर्को वर्षको मध्यतिर निर्माण हुने उनले बताइन् । रेखाले पछिल्लो पटक चलचित्र ‘मालिका’ बनाएकी थिइन् ।

सौगात र दयाहाङसँग टिमअप भएको चलचित्र विषय प्रधान हुने अभिनेत्री रेखाले जानकारी दिइन् । उनले भनिन्, ‘मैले निर्माण र अभिनय गर्ने प्रायः चलचित्र विषय प्रधान हुने गरेका छन् । यो चलचित्र पनि विषय प्रधान नै हुनेछ । यसपटक सौगात र दयाहाङजस्ता कलाकारसँग स्क्रिन साझेदारी गर्दैछु । दर्शकले केही नयाँ कुरा पाउनुहुनेछ ।’ उनी चलचित्रलाई लिएर उत्साहित रहेको बताउँछन् ।
एक्सन प्रधान बताइएको चलचित्रको कथा जगदिश्वर थापाले लेखिरहेका छन् । रेखाले चलचित्रको कथाले नै सौगात र दयाहाङ खोजेको बताइन् । ‘चलचित्रको लाइनअप बलियो बनाउन उहाँहरुलाई रोजेका होइनौं । कथावस्तुले नै उहाँहरुलाई मागेको हो,’ उनले भनिन् । उनले यसअघि दयाहाङसँग चलचित्र ‘नीरफूल’ मा काम गरे पनि सौगातसँग पहिलो पटक काम गर्न लागेकी हुन् ।




