माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ ले प्रचार-प्रसारलाई आक्रामक बनाउन हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ । चलचित्रको थिम अनुसार घोषणा गरिएको यो प्रतियोगितामा सहभागी हुन चाहनेले कमेडी हाउभाउमा खिचिएको सेल्फी ‘हाम्रो कम्युनिटी’ मा पोष्ट गर्नुपर्ने बताइएको छ ।
आफ्नो सेल्फी खिच्दा विभिन्न मेकअपको पनि प्रयोग गर्न सक्ने निर्माता सुवास थापाले जानकारी दिए । तर, मेकअप प्रयोग गर्न अनिवार्य चाहिँ नभएको उनले बताए । पोष्ट भएका सेल्फीहरुमध्ये विजेता छनोट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइने उनी बताउँछन् । इच्छुकले माघ ५ देखि माघ २० सम्म यो प्रतियोगितामा भाग लिन सक्नेछन् ।

यो प्रतियोगिताका विजेतालाई कलाकार अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति र अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ । चलचित्रका निर्माता दिनेश राउतले यो प्रतियोगिताले कलाकार बन्ने चाहनेका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । चलचित्रका निर्देशक विशाल सापकोटा हुन् ।
एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको चलचित्रमा अभिनेता विपिन ‘सेल्फी किङ’ उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् । उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । सुशन प्रजापतिको छायांकन रहेको चलचित्रका प्रवल कोइराला र राजेश बिसुराल सह-निर्माता हुन् । चलचित्रको कथा निर्देशक सापकोटा स्वयंको हो ।




