आउँदो फागुन १ देखि ५ गतेसम्म आयोजना हुन लागेको ‘नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल’ मा सहभागी हुन सुपरहिट बलिउड चलचित्र ‘गंगाजल’ का निर्देशक प्रकाश झा नेपाल आउने भएका छन् । यो फेस्टिभलको आयोजना हरेक वर्ष नेपाल फिल्म एण्ड कल्चर एकेडेमीले गर्दै आएको छ । बिहीवार तेस्रो संस्करणको बारेमा राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बोल्दै वरिष्ठ कलाकार नीर शाहले ‘निफ’ ले नेपाली फिल्मको प्रवद्र्धनमा मद्दत गरेको बताए । विदेशी जुरीले नेपाली चलचित्रमार्फत नेपाललाई चिन्न र बुझ्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे ।
त्यस्तै, राज्यमन्त्री मानन्धरले आफू नेपाली चलचित्रसँग जोडिएकोले सदैव सहयोग गर्ने बताए । नेपाली चलचित्रमार्फत राष्ट्रियतालाई विषयवस्तु बनाउँदै दर्शकसम्म लैजान पनि उनले चलचित्रकर्मीलाई आग्रह गरे । फेस्टिभलका अध्यक्ष केपी पाठकले यसपटक नेपाली चलचित्रकर्मीका लागि डिजिटल मार्केटको सम्भाव्यतालाई मध्यनजर गर्दै नेटफ्लिक्स प्रतिनिधि समेत आउने जनाए ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारासहित हुन लागेको फेस्टिभलमा कथानक चलचित्रको निर्णायक मण्डलको नेतृत्व भारतीय निर्देशक झाले गर्नेछन् । फेस्टिभलमा ४० देशका ८० चलचित्र देखाइने कार्यक्रममा जानकारी गराइयो । दर्ता आह्वान गरिएकोमा ५५ देशको ६०० फिल्मले आवेदन दिएको समेत नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) का अध्यक्ष केपी पाठकले बताए ।




