अभिनेता विराज भट्टले निर्देशनमा डेब्यू गरेको एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र ‘साङ्लो’ यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ४ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका कारण यो चलचित्रको दर्शकहरुले व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।
एक्सनपूर्ण ट्रेलर र ‘चरीले काफल’ बोलेको गीतले चलचित्रको राम्रो हाइप निर्माण गरेको अवस्थामा अभिनेता विराजले अहिले ‘साङ्लो’ को प्रचार-प्रसारलाई पनि आक्रामक बनाएका छन् । हालै चलचित्रको नयाँ गीतको छायांकन सकेका उनी केही दिनयता देशमा हुने विभिन्न सांस्कृतिक महोत्सवहरुमा सहभागी भैरहेका छन् ।

महोत्सवहरुमा उनको माग चर्को छ । चलचित्र रिलिजको मुखमा महोत्सवमा आफ्नो माग बढ्दा विराज दंग छन् । उनलाई ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ झैँ भएको छ । महोत्सवमा सहभागी हुँदा मोटो पारिश्रमिकसँगै चलचित्र ‘साङ्लो’ को प्रचार पनि गर्न पाउने हुँदा अभिनेता विराजले प्रस्ताव आएका कुनै महोत्सव छाडेका छैनन् । अहिले उनी महोत्सवमा अभिनेत्री निकिता चाण्डकलाई पनि सँगै लिएर जाने गरेका छन् ।
तीन दिन अगाडि कैलालीमा जारी ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ मा उनी निकितासँग पुगेका थिए । त्यहाँ दुईले चलचित्रको ‘चरीले काफल’ बोलको गीतमा ठुम्का लगाए । उक्त महोत्सवमा विराजलाई हेर्नकै लागि ५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको जानकारी प्राप्त छ । महोत्सवबाट चलचित्रको राम्रो प्रचार हुने देखेपछि विराज अरु पनि महोत्सवमा सहभागी हुने सोचमा छन् ।




