बलिउडमा साउथ चलचित्रको हिन्दी रिमेकको अधिकार खरिद गरेर चलचित्र निर्माण हुने क्रम बढिरहँदा अब नेपालमा पनि यसको सुरुवात भएको छ । वर्षौदेखि नेपाली चलचित्रले विदेशी चलचित्रको कथा चोरीको आरोप खेपिरहेको अवस्थामा साउथको सुपरहिट चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्दैछन् । यसका लागि युवा फिल्मस्ले नेपाली रिमेक अधिकार किनेको हो ।
केही दिन अगाडि ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकार खरिद विक्रीको संझौता गरेका हुन् । यो चलचित्रको नेपाली भर्सनको यसै वर्ष औपचारिक रुपमा घोषणा गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रमा अहिलेसम्म निर्देशक र कलाकारहरु कोही फाइनल भएका छैनन् ।

युवा फिल्मस्भन्दा अगाडि ‘कृ’ निर्माता सुवास गिरी अभिनेता प्रदीप खड्कालाई लिएर ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन ‘भैरवी’ बनाउन कस्सिएका थिए । स्क्रिप्ट पनि तयार भैसकेको थियो । चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह हुने चर्चा थियो । तर, ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनभन्दा अगाडि हिन्दी भर्सन निर्माण र प्रदर्शन हुने भएपछि निर्माता गिरीले जोखिम मोल्न चाहेनन् ।
‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको अधिकार युवा फिल्मस्ले मोटो रकम तिरेको किनेको हो । यसअघि निर्माता सुवास गिरीको चलचित्रको नेपाली रिमेकका लागि भारु १० लाख तिर्न राजी भएका थिए । युवा फिल्मस्ले पनि भारु १० लाख अर्थात् नेपाली १६ लाखमा चलचित्रनेपाली भर्सनको अधिकार किनेको हो । तर, निर्माण टिमले चलचित्रको नेपाली भर्सनको राइट्स मुल्य भने खुलाएको छ ।




