सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । यो चलचित्रमा उनको जोडी एक्सन सुपरस्टार विराज भट्टसँग बाँधिएको छ । चलचित्रका निर्देशक पनि विराज स्वयं हुन् । मृगौला तस्करीको कथा वाचन गर्ने चलचित्रलाई लिएर दर्शकमा लामो समयदेखि प्रतिक्षा भैरहेको छ ।

‘साङ्लो’ भन्दा अगाडि अभिनेत्री निकिता ‘रानीमहल’ मा अनुबन्ध भएकी थिइन् । तर, निर्माता र निर्देशकबीच लफडा भएपछि चलचित्रको आधा छायांकन पनि नसकिँदै रोकियो । अब, यो चलचित्र नबन्ने बताइएको छ । पहिलो गाँसमै ढुंगा लागेपछि निकिता निराश भएकी थिइन् । केही समय अभिनय सिकेपछि नयाँ चलचित्र गर्ने मनस्थितिमा रहँदा उनलाई अभिनेता विराजले ‘साङ्लो’ अफर गरेका थिए ।

चलचित्रको ‘चरीले काफल टिप्यो’ बोलको गीतमा उनको नृत्य, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले मन पराएका छन् । अब, चलचित्रमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता धेरैमा छ । ‘साङ्लो’ डेब्यू चलचित्र भएका कारण यसको व्यापारले निकिताको आगामी यात्रामा ठूलो अर्थ राख्नेछन् । त्यसैले पनि चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा उनले प्रमोशनमा अभिनेता विराजलाई राम्रो साथ दिइरहेकी छन् ।

‘चरीले काफल’ गीत हिट भएपछि केही दिनअघि फिल्मको नयाँ गीतको छायांकन गरिएको छ । गीतमा विराज र निकिताले डान्स गरेका छन् । काठमाडौंमा खिचिएको गीतको केही अचल तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ । उनको पहिरनले काठमाण्डौको चिसो मौसमलाई समेत चुनौती दिएको छ ।

डान्सिङ नम्बरको यो गीतबाट निर्माण पक्षले ठूलो आश बोकेको छ । चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको चलचित्रमा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ ।




