‘कमाण्डर’ मा देशप्रतिको प्रेमभाव : निर्देशक सापकोटा



एलआर विवेक सापकोटाको निर्देशन रहेको चलचित्र ‘कमाण्डर’ यही शुक्रवारबाट एकल प्रदर्शनमा आउँदैछ । एक्सन प्रधान चलचित्रमा अभिनेता अनुप विक्रम शाही, रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मालगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट सगुन थापा र साधना सिलवालले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रमा अनुप प्रहरी अधिकृतको भूमिकामा छन् ।

रिलिजको संघारमा मंगलवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक सापकोटाले चलचित्रमा इमान्दार प्रहरी अधिकृतले देश र नागरिकको हिफाजतका लागि के कस्ता परिस्थितिहरु सामना गर्नुपर्छ भन्ने देखाइएको बताए । चलचित्रमा समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका विषय पनि उठाइएको उनी बताउँछन् ।

‘चलचित्रमा भरपुर मनोरञ्जनका साथै देशप्रतिको प्रेम भावलाई समेत प्रस्तुत गरिएको छ,’ निर्देशक सापकोटाले अगाडि भने, ‘चलचित्र आमदर्शकले मन पराउनेमा हामी पूर्ण विश्वस्त छौं ।’ नव अभिनेत्री साधना सिलवालले ‘कमाण्डर’ पूर्ण मनोरञ्जक फिल्म भएको बताइन् । पहिलो चलचित्रमै सिनियल कलाकारहरुसँग काम गर्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठानेको बताउँछिन् ।

अर्की डेब्यू अभिनेत्री सगुन पनि यो चलचित्रबाट आशावादी छिन् । ‘पहिलो पटक पर्दामा देखिन लागेका कारण नर्भससँगै उत्साहित पनि छु,’ उनले भनिन्, ‘मेरो पहिलो प्रयास दर्शकले स्वीकारिदिनुहुनेछ भन्नेमा विश्वास छ । मैले आफ्नो भूमिकालाई न्याय गर्ने भरपुर प्रयत्न गरेको छु ।’ डेब्यू चलचित्रमा सिनियल कलाकारसँग काम गर्दा आफूले धेरै सिक्न पाएको उनको भनाई छ ।

सुपेरियर फिल्मस्को ब्यानरमा विवेक सापकोटाको प्रस्तुति रहेको चलचित्रको सह-निर्मातामा सावनजंग राना रहेका छन् । दिव्य सुवेदीले खिचेको चलचित्र ‘कमाण्डर’ मा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्माण भएको लामो समयपछि चलचित्र प्रदर्शन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu