चलचित्र ‘एन्टी हिरो’ मा अभिनेता अनमोल केसीको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिने निश्चित भएको छ । गएको केही महिना अगाडि नै यो चलचित्रमा जसिता हुने खबर बाहिरिएको थियो । तर, यो कुरालाई निर्माण टिमले अफवाह बताउँदै आएको थियो । बुधवार भने चलचित्रका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको छ ।
‘लिलिबिली’ बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज चलचित्र ‘लभ स्टेशन’ हो । यो चलचित्र बक्सअफिसमा असफल भएपछि निराश भएकी उनले निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ साइन गरेर बसेको धेरै समय भैसकेको छ । तर, यो चलचित्रको छायांकन हुन सकेको छैन । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिदैछ ।

काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायांकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । चलचित्रका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएका छैनन् । प्राप्त जानकारी अनुसार, चलचित्रलाई एक भारतीय निर्देशकले निर्देशन गर्नेछन् । केही दिनमा निर्देशकसँग पनि कागजी सम्झौता हुने बुझिएको छ ।
चलचित्रमा भुवन केसीले पनि अभिनय गर्दैछन् । चलचित्रमा उनी नकारात्मक भूमिकामा देखिने बताइएको छ । चलचित्र ‘मिस्टर नेपाली’ रिलिजको संघारमा उनले ‘एन्टी हिरो’ का लागि दाह्री समेत बढाएका थिए । तर, स्क्रिप्टमा समय लाग्ने भएपछि चलचित्रको छायांकन पोस्टपोन्ड गरिएको थियो । पहिलो पटक पर्दामा अनमोल र जसिताको जोडी हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।




