बोर्ड अध्यक्षमा कसको सम्भावना ?



नेपाली चलचित्र क्षेत्रको समग्र विकास प्रवर्द्धन एवं विस्तार गर्न स्थापना भएको चलचित्र विकास बोर्डको अध्यक्ष पद एक महिनायता रिक्त छ । मंसिर २९ गते बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको पदका लागि नेकपा निकट फिल्मकर्मीहरुको दौडधुप सुरु भएको छ । अध्यक्षका लागि अहिले आधा दर्जन चलचित्रकर्मीको नाम चर्चामा छ ।

अध्यक्ष पदका लागि अभिनेताद्वय राजेश हमाल र भुवन केसीसँगै निर्देशक दयाराम दाहाल, अभिनेता तथा निर्देशक नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, निर्देशक तथा अभिनेता आकाश अधिकारी र निर्देशक केपी पाठकले चासो देखाएको चर्चा छ । बोर्ड अध्यक्षमा सत्तामा रहेको दलले आफु अनुकूलको व्यक्ति सिफारिस गर्ने गर्दछ ।

माथि उल्लेखित चलचित्र विकास बोर्डको अध्यक्षका आकांक्षीहरु नेकपा निकट मानिन्छन् । प्राप्त जानकारी अनुसार, अभिनेता राजेश हमाललाई बोर्ड अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैंले चासो देखाएका छन् । हमाल भने बोर्ड अध्यक्ष बन्ने या नबन्ने भन्नेमा दोधार छन् । स्वत:स्फुर्त काम गर्ने वातावरण नभएसम्म उनी बोर्ड अध्यक्ष हुने सम्भावना न्यून छ ।

स्रोत भन्छ, ‘राजेश हमाललाई अहिले बोर्डमा पुगेर खुम्चिएर बस्न मन छैन । अहिलेलाई उहाँ अध्यक्ष हुने सम्भावना अति न्यून छ ।’ प्रधानमन्त्री ओलीले अभिनेता हमाललाई बोर्ड अध्यक्षको पद दिएर नेकपाको ट्याग लगाउन चाहेका छन् । तर, बौद्धिक अभिनेताको रुपमा चिनिने हमाल बोर्डमा पुगेर विवादमा पर्न चाहेका छैनन् । प्रधानमन्त्री ओली उनको निर्णयको पखाईमा छन् ।

अभिनेता राजेश हमालले चलचित्र विकास बोर्डको अध्यक्ष बन्न इच्छा नदेखाएको खण्डमा अभिनेता भुवन केसी हुनसक्ने चर्चा छ । प्रधानामन्त्री र मन्त्रीसँग सिधा पहुँच राख्ने उनी नेकपा निकट हुन् । तत्कालिन नेकपा एमालेले २०७० सालको निर्वाचनमा उनलाई काठमाडौं क्षेत्र नंं. १ बाट उम्मेदवार समेत बनाएको थियो । तर, पार्टीभित्र चर्को विवाद भएपछि उनको टिकट खोसिएको थियो ।

अभिनेता भुवनले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आफूले लबिङ गरेको स्वीकार गरेका छैनन् । तर, प्रधानमन्त्री ओलीसँग उनको हालै बोर्ड अध्यक्षका लागि भेटेरै कुराकानी भएको गोप्य स्रोतले जानकारी दिएको छ । पछिल्लो समय फिल्म निर्माण र निर्देशनमा सक्रिय अभिनेता भुवनलाई बोर्ड अध्यक्ष बनाउन प्रधानमन्त्री ओली सकारात्मक रहेको बुझिएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अर्का बलिया प्रतिस्पर्धी हुन्, दयाराम दाहाल । उनी सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाका गृहजिल्लाका हुन् । उनले बाँस्कोटालाई गएको चुनावमा ठूलो सहयोग गरेका थिए । दाहाललाई बोर्ड अध्यक्ष बनाएर चुनावमा गरेको सहयोगको पैँचो तिर्ने योजनामा मन्त्री बाँस्कोटा रहेको स्रोतको दावी छ । दाहाल बोर्डका वर्तमान सदस्य पनि हुन् ।

अभिनेताद्वय राजेश हमाल र भुवन केसीमध्ये एक चलचित्र विकास बोर्डको अध्यक्षमा आउन चाहेको खण्डमा प्रधानमन्त्री ओली स्वयंले चासो देखाउन सक्नेछन् । दुवै अभिनेता बोर्ड अध्यक्ष बन्न नचाहेको अवस्थामा भने मन्त्री बाँस्कोटाले निर्देशक दयाराम दाहाल बोर्ड अध्यक्ष बनाउने सम्भावना प्रवल छ । बोर्ड अध्यक्षका लागि अहिलेसम्म सरकारले विज्ञापन निकालेको छैन ।

तत्कालीन माओवादी निकट नवल खड्का पनि बोर्ड अध्यक्षका बलिया प्रत्यासी हुन् । नेकपाको वर्तमान अध्यक्ष नै तत्कालीन माओवादीका पुष्पकमल दाहाल भएका कारण नवल केही दिनयता बोर्ड अध्यक्षका लागि पार्टीका शिर्षस्थ नेतासँग भेट गरिरहेको जानकारी प्राप्त छ । लय संग्रौला, आकाश अधिकारी र केपी पाठकले पनि बोर्डको अध्यक्ष पदका लागि लबिङ सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu