‘अर्जुन रेड्डी’ रिमेक गर्न लागेको होइन : आर्यन



तेलुगूको ब्लकबस्टर चलचित्र हो, ‘अर्जुन रेड्डी’ । यो चलचित्रको अब नेपाली भर्सन निर्माण हुँदैछ । युवा फिल्मस्ले १६ लाख रुपैयाँमा यो चलचित्रको नेपाली भर्सनको अधिकार लिएको हो । केही दिन अगाडि ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकार खरिद विक्रीको सम्झौता गरेका हुन् ।

‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक समेत प्रदर्शन भैसकेको छ । चलचित्रको हिन्दी भर्सन ‘कबीर सिंह’ गत वर्षको धेरै आम्दानी गर्ने फिल्ममध्ये एक हो । चलचित्रमा शाहिद कपूर प्रमुख भूमिकामा थिए । ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने भएपछि अभिनेतामा आर्यन सिग्देल हुने चर्चा चलेको थियो । उनले चलचित्र गर्नका लागि मौखिक सहमति जनाएको पनि खबर बाहिरिएको थियो ।

तर, अभिनेता आर्यनले यस विषयमा आफ्नो स्पष्टिकरण दिएका छन् । उनले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै ‘अर्जुन रेड्डी’ को विषयमा आफूसँग कुरा नभएको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘स्पष्ट पार्न चाहन्छु कि म ‘अर्जुन रेड्डी’ को रिमेकको हिस्सा छैन । चलचित्रको बारेमा कुराकानी र विचार गरेको छैन । यो राम्रोचलचित्र हो र म पूरै टिमलाई शुभकामना दिन्छु ।’

अभिनेता आर्यनले ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनबाट अफर आएको र गर्ने सहमति भएको कुरामा सत्यता नभएको बताए पनि उनीसँग युवा फिल्मस्का केशव खड्काले चलचित्रको विषयमा कुराकानी गरेको बताइएको छ । चलचित्रका लागि निर्माण टिमको आर्यन नै पहिलो रोजाई हुन् । यसको नेपाली भर्सनलाई ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu