करीब तीन दशक अगाडि निर्माण भएको प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को नाम सापटी लिएर निर्देशक सुव्रतराज आचार्यले नयाँ चलचित्र बनाउने भएका छन् । यो चलचित्रका लागि लिड अभिनेताको पनि टुंगो लागेको छ । चलचित्रमा दुई भर्सटायल अभिनेता दयाहाङ राई र विपिन कार्कीले अभिनय गर्ने भएका छन् । दुवैसँग चलचित्रका लागि सम्झौता भैसकेको छ ।
यी दुई अभिनेताले सुपरहिट चलचित्र ‘लुट २ र जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । ‘के घर के डेरा’ लाई सिंगे लामाले निर्माण गर्दैछन् । उनले यसअघि विपिनलाई लिएर ‘जात्रा, हरि र जात्रै जात्रा’ निर्माण गरेका थिए । सामाजिक विषयवस्तुमा बन्ने चलचित्रका लागि अभिनेत्रीमा वर्षा राउतसँग कुराकानी भैरहेको जानकारी प्राप्त छ । उनी चलचित्र गर्न सकारात्मक रहेको बुझिएको छ ।

चैतबाट छायांकन सुरु हुने चलचित्रमा दयाहाङ र विपिनसँगै कलाकार रविन्द्र झाको पनि प्रमुख भूमिका रहने बताइएको छ । शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रको काठमाडौंमै छायांकन हुनेछ । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा चलचित्र निर्माण हुने जानकारी प्राप्त छ । चलचित्रको पटकथा सफल केसी र प्रतिक गुरुङले मिलेर लेखेका छन् ।
छायाँकार दिर्घ गुरुङले चलचित्र खिच्ने जिम्मेवारी पाएका छन् । त्यस्तै, चलचित्रका लागि शंकर थापाले संगीत तयार पारेका छन् । ‘सुश्री सम्पत्ति’ पछि निर्देशक आचार्य लामो समयदेखि ‘के घर के डेरा’ को स्क्रिप्टमा काम गरिरहेका थिए । यो उनको तेस्रो प्रोजेक्ट हो । उनले ‘अधकट्टी’ चलचित्रको पनि निर्देशन गरेका थिए । उनका अनुसार, केही दिनमा चलचित्रको निर्माण घोषणा गरिँदैछ ।




