स्टारडम एउटै विन्दूमा सधैं टिकिरहँदैन : विपिन कार्की



हरेक नयाँ चलचित्रमा फरक भूमिका र गेटअपमा देखिने अभिनेता विपिन कार्कीको नयाँ चलचित्र ‘सेल्फी किङ’ यही माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा पनि भिन्न भूमिका र गेटअपमा देखिएका छन् । चलचित्रमा उनी टेलिभिजन हास्यकलाकारको भूमिकामा छन् । चलचित्रको टिजर, ट्रेलर र पोस्टरमा देखिएको उनको भिन्न लुक्सले धेरैको ध्यान खिचेको छ । चलचित्रमा उनी जोकरको हुलियामा देखिएका छन् ।

विशाल सापकोटा निर्देशित चलचित्रको ट्रेलरमा विपिनले सेलिब्रेटीको स्टारडमलाई लिएर बोलेको एक संवाद अहिले हिट भैरहेको छ । ट्रेलरमा उनले भनेका छन्, ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी, फ्रेम भन्ने कुरा छ नी मुतको न्यानो जस्तो मात्र हो । एकछिन तातो हुन्छ मज्जा आउँछ । एकछिन पछि घिन लाग्न थाल्छ । गन्हाउँछ ।’ धेरैले यो संवादलाई तीतो यथार्थ भनेका छन् ।

के अभिनेता विपिनलाई पनि स्टारडम भनेको मुतको न्यानो नै लाग्छ ? एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘चलचित्रमा त मैले लेखेको कुरा बोलेको हुँ । साँचो कुरा र मलाई लागेको कुरा मैले गर्ने चलचित्रमा हुँदैनन् । मेरो विचारमा स्टारडम मुतको न्यानो भन्ने कुरा यथार्थ नै हो । स्टारडम एउटै विन्दूमा सधैं टिकिरहँदैन । तर, यो संवाद कसैलाई होच्याउनका लागि भनिएको चाहिँ होइन ।’

चलचित्रको प्रशंग अनुसार यो संवाद राखिएको उनको भनाई छ । उनी सेलिब्रेटीको स्टारडम नटिक्नुको कारण मानिस अजम्बरी नहुनुलाई मान्छन् । उनी भन्छन्, ‘मानिस जन्मिएपछि मर्नुपर्छ । संसारमा कोही अजम्बरी छैन । त्यसैले एउटा कुरा सधैं भइरहँदैन । कुनै कुराको सुरुवात हुन्छ भने त्यसको अन्त्य पनि हुन्छ । त्यही भएर स्टारडम सधैं एकै विन्दूमा रहँदैन । एकदिन ध्वस्त हुन्छ ।’

‘प्रसाद’ का निर्माता सुवास थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको ‘सेल्फी किङ’ मा एक हास्यकलाकारको तीन दिनको कथा चलचित्रमा उतारिएको छ । चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि नेपाल, जीवन भट्राई लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक सापकोटाकै कथा भने सुसन प्रजापतिको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu