पछिल्लो पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवर अब चलचित्रको हिरो बन्ने भएका छन् । सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको चलचित्रबाट नितेश हिरो बन्न लागेको चर्चा छ । निर्देशक पौडेल र गायक कुँवरबीच चलचित्रका लागि मौखिक सहमति भैसकेको बुझिएको छ । तर, कागजी सम्झौता भने भएको छैन । निर्माण टिमको नितेशसँग केही दिनमा कागजी सम्झौता हुने स्रोतले बतायो ।

निर्देशक सुरेन्द्रले नितेशसँग चलचित्रका लागि कुराकानी भएको स्वीकार गरे । उनले भने- ‘नितेशजीसँग चलचित्रको विषयमा कुरा भएको सत्य हो । तर, अहिलेसम्म कागजी सम्झौता भएको छैन ।’ नाम गोप्य राखिएको चलचित्रमा ‘कृ’ फेम्ड अभिनेत्री अदिती बुढाथोकी लिड एक्ट्रेसको रुपमा हुने चर्चा छ । तर, उनीसँग पनि कागजी सम्झौता नभएको निर्देशक पौडेल बताउँछन् ।
सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’ बाटै अभिनेत्री अदितीले अभिनय करिअर सुरुवात गरेकी थिइन् । यो चलचित्र गर्नका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन् । तर, डेब्यू चलचित्र फ्लप भएपछि उनी पुनः मुम्बई फर्किइन् । यसपछि उनले नयाँ चलचित्र साइन गरेकी छैनन् । नितेश र अदितीले सुरेन्द्रको चलचित्र गर्न राजी भएको खण्डमा यो जोडीलाई पर्दामा हेर्न रोचक हुने देखिन्छ ।




