७ वर्ष भोजपुरी चलचित्रमा आफ्नो दबदबा कायम गरेपछि अभिनेता विराज भट्ट नेपाली चलचित्रमा फर्किएका छन् । हुनत, उनले गएको ४ वर्ष अगाडि नै चलचित्र ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । तर, यसले बक्सअफिसमा सफलताको झण्डा गाँड्न सकेन । यो चलचित्र नचल्दा उनी निराश भएका थिए । अब, ‘साङ्लो’ बाट उनी फेरि एकपटक नेपाली चलचित्रमा आफ्नो दबदबा कायम गर्ने सोचमा छन् ।
यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साङ्लो’ को ट्रेलरमा अभिनेता विराजको पावरफूल एक्सनले दर्शकमा चलचित्रप्रति उत्सुकता बढाएको छ । वर्षौदेखि लभस्टोरी र कमेडीको ह्याङमा रहेका दर्शकलाई यो चलचित्रले मुक्त गर्ने अपेक्षा गरिएको छ । अभिनेता विराज पनि चलचित्रमा आफूलाई दर्शकले अहिलेसम्म नदेखेको एक्सन अवतारमा देख्न पाउने दाबी गर्छन् ।
उनी ‘साङ्लो’ को एक्सन साउथ चलचित्रले चोर्ने समेत बताउँछन् । हालै एक कफी भेटमा विराजले भने- ‘हामी सधैं किन अरुको एक्सन मात्र चोर्ने ? हामी केमा कम छौं ? हो, हामी बलिउड र हलिउड चलचित्रमा जस्तो धेरै खर्च गर्न सक्दैनौं । तर, मेहेनत त गर्न सक्छौं नी । मेहेनतमा हामी उनीहरुभन्दा राम्रो गर्न सक्छौं । ‘साङ्लो’ को एक्सन हामी आफैंले कियशन गरेका हौं ।’

उनी कलालाई कुनै सिमाले नरोक्ने पनि बताउँछन् । उनले भोजपुरी चलचित्रमा जानुको वृत्तान्त बताउँदै भने- ‘म भोजपुरी गएको भन्दा पनि भोजपुरीका निर्माताले मलाई खोजेर लगेका हुन् । नेपाली चलचित्रमा मेरो राम्रो देखेर त्यहाँका मेकरले मलाई खोजेका हुन् । यस्तो धेरै ठाउँमा भएका छन् । तेलुगूको हिन्दीमा, हिन्दीको हलिउडमा समेत गएका छन् । कलालाई कुनै सिमाले रोक्दैन ।’
नेपाली चलचित्रलाई संसारभर चिनाउने अवसर पाए आफू हलिउड/बलिउड सबै भाषाका चलचित्र गर्न तयार रहेको विराजको भनाई छ । उनले थपे- ‘हाम्रो फिल्म इन्डस्ट्री सानो छ । एउटा सीमित ठाउँमा चल्छ । सानो बजेटमा बन्छ । संसारभरी हामीले नेपाली चलचित्रलाई चिनाउन सकेका छैनौं । भोजपुरीमा गएर नेपाली चलचित्रलाई चिनाउन पाउनु मेरो सौभाग्यको कुरा थियो ।’
अभिनेता विराजले चलचित्र ‘साङ्लो’ मा पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । उनी निकिताको कामबाट आफू प्रभावित भएको बताउँछन् । निकिताको तारिफ गर्दै विराजले अगाडि भने- ‘काम गर्ने मान्छेले थोरैमा पनि आफूलाई चिनाउँछन् भने निकिता त सोलो अभिनेत्री हुन् । चलचित्रमा उनको राम्रो क्यारेक्टर छ । चलचित्र हेरेपछि दर्शक उनको फ्यान हुनेछन् ।’




