चलचित्र ‘षट्कोण’ को प्रदर्शन मिति आउँदो वर्षको बैशाख १९ गतेलाई घोषणा गरिएको छ । ज्ञानकी देवी सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । मिलन डि. काप्रीको निर्देशन रहेको चलचित्रको पोस्टरमा आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधिएको देख्न सकिन्छ । भने, भूईंमा एक व्यक्ति उभिएका छन् ।
एक रहस्मय मर्डरको कथामा फिल्म आधारित रहेको बताइएको छ । क्लेमेन्टाइन प्रोडक्सन प्रा.लि., जयन श्रेष्ठ इन्टरटेनमेन्ट र आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्तामा जगन श्रेष्ठ र निर्मातामा जयन श्रेष्ठ रहेका छन् । आङछेन लामाको छायांकन रहेको चलचित्रका गीतमा विशेष पाण्डे र विराज गौतमको संगीत छ । चलचित्रको कथा/पटकथा शिशिर लिम्बु वनेमले लेखेका हुन् ।

हाल डबिङको काम भैरहेको चलचित्रमा कर्मा शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, विराज कडरिया, शिशिर लिम्बु वनेम, सुयसा अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा कर्माले एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिका निर्वाहा गरेका छन् । उनी चलचित्रको कथा सरल र साधारण रहेको बताउँछन् । उनी चलचित्रलाई लिएर आशावादी छन् ।
विशेष पाण्डेको सम्पादन रहेको चलचित्र ‘षट्कोण’ को छायांकन भिमफेदी र काठमाडौंमा भएको हो । यो चलचित्रबाट मिलनले निर्देशनमा डेब्यू गरेका हुन् । उनी चलचित्रलाई राम्रो बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताए । रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई राजधानीमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।




