चर्चित हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ को २८ वर्षपछि अभिनेत्री बन्ने सपना पूरा भएको छ । उनी अभिनीत पहिलो चलचित्र ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले श्रीमान् सिताराम कट्टेल ‘धुर्मुस’ की श्रीमतीको भूमिका निर्वाहा गरेकी छन् । बुधवार चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । राजनीतिले परिवारमा कसरी द्वन्द्व श्रृजना गर्छ भन्ने कुरालाई देखाइएको चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन् ।
चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा कुञ्जानाले अहिले आफू स्लिम हुने कोशिशमा रहेको बताइन् । धेरैले आफूलाई सामाजिक अभियान्तासँगै सेलिब्रेटी पनि भएका कारण फिटनेशमा ध्यान दिन आग्रह गरेपछि राम्री हुने प्रयासमा रहेको उनको भनाई छ । उनी भन्छिन्, ‘म सेलिब्रेटी पनि हो, सामाजिक अभियान्ता मात्र होइन । त्यसैले मैले आफूलाई पनि मेन्टेन गर्नुपर्छ भन्ने लाग्छ ।’

उनले बाल्यकालदेखि नै अभिनेत्री बन्ने इच्छा रहेको सुनाउँदै भनिन्, ‘मेरो छोरीको उमेर हुँदा म नाच्ने/गाउने/डाम्रा गर्ने गर्थेँ । स्कुलमा पनि धेरै पुरस्कार जितेको थिएँ । त्यसबेलादेखि नै म ऐना हेरेर हिरोइन हुन्छु भन्थेँ ।’ उनले २८ वर्षपछि ‘सेन्टी भाइरस’ बाट अभिनेत्री बन्ने इच्छा पूरा भएकोमा खुसी व्यक्त गरिन् । तर, उनी चलचित्रमा आफू हिरोइन जस्तो नदेखिएको बताउँछन् ।
कलाकार कुञ्जनाले आफू क्यारेक्टरमा काम गर्न रुचाउने भए पनि विगत ४ वर्षदेखि त्यो पनि टुटेको बताइन् । ‘सेन्टी भाइरस’ आफ्नो २८ वर्षपछिको तपस्या रहेको उनको कथन छ । उनले भनिन्, ‘बाल्यकालदेखि चलचित्रमा अभिनय गर्ने इच्छा बल्ल पूरा भएको छ । चलचित्र मेकिङमा यो हाम्रो पहिलो प्रयास हो । अब हामी चलचित्र निर्माण र अभिनयलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’




