जुनसुकै भूमिकामा जीवन अभिनय गर्ने अभिनेत्रीको रुपमा आफूलाई चिनाएकी लक्ष्मी बर्देवालाई महिला टेम्पो चालकको भूमिकामा खेलेको चलचित्र ‘बुलबुल’ ले नयाँ उचाइ दिलायो । यसमा उनले गरेको अभिनयले दर्शकमाझ बेग्लै प्रभाव छाड्यो । चारित्रिक भूमिकामा अहिले उनको लोभलाग्दो माग छ । तर, उनी हिरोइनको प्रचलित मानकभित्र आफू नअट्ने बताउँछिन् ।

शुक्रवार कफी भेटमा भर्सटायल अभिनेत्रीको रुपमा परिचित लक्ष्मीले भनिन्, ‘हामीले देख्दै र बुझ्दै आएको हिरोइनको मानकभित्र म लुक्सको हिसाबले अटाउँदिनँ । त्यो मैले स्वीकार गर्नुपर्छ । क्यारेक्टर लिडमा भएको कथा छ भने निर्माता निर्देशकहरुले मलाई सम्झनुहुन्छ । म आफूलाई हिरोइन भन्दा पनि कलाकार भन्न रुचाउछु । हिरोइन भन्यो भने जिस्काएको जस्तो लाग्छ ।’
भर्खर चलचित्र ‘प्रेमगीत ३’ को छायांकन सकाएकी लक्ष्मीको नयाँ चलचित्र ‘सेल्फी किङ’ यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । विशाल सापकोटा निर्देशित चलचित्रमा उनी अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिकामा छिन् । ट्रेलर हेर्दा चलचित्रमा उनले शंकालु श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । यसअघि विपिनसँग उनले ‘हरी’ मा काम गरेकी थिइन् ।
अभिनेत्री लक्ष्मी विपिनसँग काम गर्दा धेरै कुरा सिक्न पाएको बताउँछिन् । उनले भनिन्, ‘‘हरी’ मा विपिन सर र मेरो फेस टू फेस सिन थिएन । ‘सेल्फी किङ’ मा चाहिँ श्रीमान्-श्रीमतीको भूमिकामा छौं । उहाँ मभन्दा धेरै सिनियर कलाकार हुनुहुन्छ । उहाँसँग काम गर्दा मलाई धेरै कुरा सिक्ने अवसर मिल्यो ।’’ ‘सेल्फी किङ’ लाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् ।




