भर्सटायल अभिनेताको रुपमा नेपाली चलचित्र क्षेत्रमा आफूलाई स्थापित गरेका अभिनेता सौगात मल्ल अभिनीत नयाँ चलचित्र ‘मन्त्र’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । यो चलचित्रको पोस्टरमा निर्माण टिमले कुनै कलाकारलाई स्थान दिएको छैन । बरु, सामान बोकेर यात्रामा निस्किएका हिमाली क्षेत्रमा पाइने याकलाई फिचर्ड गरिएको छ ।

‘अ हिमालयन लभ स्टोरी’ उपशिर्षक दिइएको चलचित्रमा सौगातका अलावा बुद्दि तामाङ, दिया पुन, नमिता घिसिङ्ग, विर बहादुर लामालगायतका कलाकारहरुको अभिनय रहेको छ । पोस्टर हेर्दा फिल्मले हिमाली क्षेत्रमा बसोबास गर्ने युवा-युवतीको प्रेम कथा वाचन गर्ने अनुमान गर्न सकिन्छ । चलचित्रमा सौगात र दीयाको जोडी बाँधिएको छ । यी दुईले पहिलो पटक सगै काम गरेका हुन् ।
खिल बहादुर गुरुङ निर्देशित चलचित्रमा शम्भुजित बास्कोटा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन र मित्र डि.गुरुङको सम्पादन रहेको छ । चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की,सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन ।




