‘साङ्लो’ लाई लाग्यो गीत चोरीको आरोप, प्रहरीमा उजुरी



यही माघ २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको विराज भट्ट निर्देशित तथा अभिनीत यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘साङ्लो’ विवादमा मुछिएको छ । चलचित्रमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेको छ । ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् ।

उनले शुक्रवार संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र चलचित्र निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध उजुरी दिएको प्रहरी परिसर टेकुले जानकारी दिएको छ । प्रहरीले आइतबार दुबै पक्षलाई छलफलका लागि बोलाउने बताइएको छ । सुदीपले ‘रुद्रप्रिया’ का लागि आफूले यो गीत कम्पोज गर्न २ वर्ष अगाडि संगीतकार अधिकारीलाई दिएको बताएका छन् ।

तर, पछि चलचित्रमा ‘झ्याम्मै आँखा झ्याम्मै’ गीत राखिएन । गीत भने संगीतकार अधिकारसँग थियो । सुदीप, ‘साङ्लो’ मा आफूले लेखेको गीत राखिएको विषयमा कुनै जानकारी नै नभएको बताउँछन् । गीतमा रचनाकारको रुपमा क्रेडिट समेत नदिएपछि आफू प्रहरीमा उजुरी दिन बाध्य भएको उनको भनाई छ । गीतमा रचनाकारमा गायक समेत रहेका निशान भट्टराईको नाम छ ।

सुदीपले गीतमा केही शब्द परिवर्तन गरिएको पनि बताए । क्षतीपूर्तिसहित चलचित्रबाट गीत हटाउनु पर्ने उनको माग छ । गायक निशानले गीतको रचनाकारमा आफ्नो नाम देख्दा छक्क परेको बताए । चलचित्रको गीत आफूले गाएको भए पनि शब्द भने आफ्नो नभएको उनको भनाई छ । संगीतकार अधिकारी भने प्राविधिक त्रुटीले रचनाकारमा निशानको नाम पर्न गएको बताउँछन् ।

चलचित्र रिलिजको मुखमा गीत चोरीको आरोप लागेपछि अभिनेता विराज तनाबमा देखिएका छन् । गीतमा रचनाकारमा निशानको नाम पर्नु प्राविधिक त्रुटी रहेको उनले बताए । उनले भने- ‘गीत चोरीको आरोपमा प्रहरीमा उजुरी दिएको बारेमा मलाई जानकारी भएन । मैले त सरेशजीबाट गीत लिएको हुँ । गीतको रचनाकार चाहिँ निशान भाई होइन । त्यो प्राविधिक त्रुटी हुन गएको हो ।’

अभिनेता विराज भट्टले गीतको रचनाकारमा वास्तविक सर्जकको नाम राखिने आश्वासन दिलाए । उनले अगाडि भने- ‘मैले कसैको गीत चोरेर फिल्ममा राखेको होइन । संगीतकार सुरेशजीसँग सम्झौता गरेरै गीत लिएको हुँ । गीतको शब्द उहाँले लेख्नुभएको हो वा अरुले, त्यो सुरेशजीलाई नै थाहा होला । मलाई चाहिँ गीत सुरेशजी आफैंले लेख्नुभएको हो भन्ने मात्र थाहा छ ।’

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu