प्रिमियरमा ‘सेल्फी किङ’ लाई तारिफ



यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ ले प्रिमियरमा सुखद प्रतिक्रिया प्राप्त गरेको छ । बुधवार राजधानीको नयाँ बस पार्कमा सञ्चालनमा आएको आइएनआइ सिनेमाजमा आयोजित ग्रान्ड प्रिमियरमा उपस्थित चलचित्रकर्मीहरुले अभिनेता विपिन कार्कीको अभिनयको मुक्तकण्डले प्रशंसा गरे ।

चलचित्र हेर्न भुवन केसी, सन्तोष पन्त, निशा अधिकारी, विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, आर्यन सिग्देल, कर्मा शाक्य, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दीपेन्द्र के। खनाल, रीमा विश्वकर्मा, केकी अधिकारीलगायत पुगेका थिए । चलचित्र हेरेर निस्किँदै गर्दा प्रायः फिल्मकर्मीको आँखा रसाएका थिए । चलचित्रको अन्तिम ३० मिनेट बुलन्द रहेको भन्दै सबैले विपिनको अभिनयको प्रशसा गरे ।

अभिनेता आर्यन सिग्देलले चलचित्र राम्रो बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरे । ‘चलचित्रमा हाँसो र रोदनको मिश्रण छ’, उनले भने । उनले चलचित्रको कथावस्तुले कलाकारितामा लागेका व्यक्तिलाई बढी छुने बताए । अभिनेत्री नम्रतालाई पनि चलचित्र ज्यादै मन परेछ । चलचित्रले कलाकारको मर्मलाई बोकेको र त्यसलाई विपिनको अभिनयले जीवन्त बनाएको उनले बताइन् ।

त्यस्तै, अभिनेता कर्माले धेरैपछि चलचित्र हेरेर रोएको बताए । ‘कलाकारलाई हेर्ने दृष्टिकोण र व्यक्तिगत जीवनमा सामना गर्नुपर्ने कुरालाई चलचित्रमा राम्रोसँग देखाइएको छ’, उनले अगाडि भने, ‘चलचित्रले मनोरञ्जनसँगै यथार्थलाई दर्शाएको छ ।’ चलचित्रको ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी अभिनेत्री केकी अधिकारीले चलचित्रको हिस्सा हुन पाएकोमा खुसी व्यक्त गरिन् ।

‘चलचित्रले कलाकारलाई मात्र होइन, जुनसुकै पेशामा आबद्ध व्यक्तिलाई पनि छुनसक्छ । म कलाकार भएकोले यसले अझै बढी छोयो । चलचित्रमा कलाकारको मनोभाव, मनोदशा र मनोविज्ञानलाई मनछुने ढंगबाट देखाइएको छ,’ केकीले भनिन् । अभिनेत्री द्वय निशा र रीमाले पनि चलचित्रको प्रशंसा गरे । त्यस्तै, निर्देशक दीपेन्द्र के. खनालले चलचित्र राम्रो र सरल बनेको प्रतिक्रिया दिए ।

चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनी यसै चलचित्रमार्फत् निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र सुवास थापाले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच चलचित्र ‘प्रसाद’ मा सहकार्य भएको थियो । चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu