‘पशुपति प्रसाद’ जस्तो यादगार चलचित्र दिएर दर्शकको विश्वास जितेका निर्देशक दीपेन्द्र के. खनाल निर्देशित नयाँ चलचित्र ‘आमा’ आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्रको लेखन र निर्देशन रहेका कारण ‘आमा’ प्रति दर्शकको अपेक्षा धेरै छ । फिल्म क्षेत्रले पनि निकै आश गरेको चलचित्र हो यो । ट्रेलर हेर्दा चलचित्रले गहन विषय उठाएको अनुमान गर्न सकिन्छ ।
चलचित्रको ट्रेलरले दर्शकमा एक प्रकारको हुटहुटी पैदा गरिसकेको छ । तर, ‘आमा’ लाई बक्सअफिसमा लामो रेसको घोडा बन्न बलियो ‘वर्ड अफ माउथ’ को आवश्यकता पर्नेछ । किनकि, चलचित्रमा आफ्नो नामले हलमा दर्शक तान्न सक्ने कलाकार छैनन् । यसकारण चलचित्रको इनिसियल व्यापार आक्रामक नहुन सक्छ । तर, ‘वर्ड अफ माउथ’ बलियो भए चलचित्रले ‘पिकअप’ लिनेछ ।

चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमा-छोरीको भूमिकामा छन् । ट्रेलर हेरेपछि यी दुईको अभिनयले दर्शकलाई छुने विश्वास गर्न सकिन्छ । तर, हलसम्म पुगिसकेपछि मात्र दर्शकले यसको महशुश गर्न पाउनेछन् । ‘पशुपति प्रसाद’ पछि कथित बजारु मसलाको पछाडि दौडिँदा आफ्नो लय विगारेका निर्देशक खनाल ‘आमा’ बाट पुरानै लयमा फर्किएको ट्रेलर हेर्दा भान हुन्छ ।
निर्देशक दीपेन्द्र आफैंले पनि चलचित्र ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मनछुने चलचित्र हुने बताउँदै आएका छन् । यसैले पनि ‘आमा’ को कथा र दीपेन्द्रको निर्देशनमाथि भरोसा गर्ने आधार निर्माण भएको छ । नेपाली चलचित्रले मौलिक कथा र कथावाचन रोज्न नसकेको अवस्थामा ‘आमा’ ले दर्शकलाई आफ्नोपन आभाष गराउने विश्वास गरिएको छ ।
चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदम प्रसाद पौडेल, आशान्त शर्मा, अश्मिता खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिर्घ खड्काको सम्पादन छ । चलचित्रको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो ।




