केही दिनअघि अभिनेता आर्यन सिग्देलले साउथ चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा अभिनय गर्न लागेको चर्चाले नेपाली सञ्चारमाध्यम राम्रै तात्यो । तर, आर्यनले फेसबुकमा स्टाटस लेख्दै आफू चलचित्रमा नभएको जानकारी दिए । युवा फिल्मस्ले १६ लाखमा ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको अधिकार लिएको हो । चलचित्रलाई ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले निर्देशन गर्दैछन् ।
निर्देशक विशालसँग अभिनेता आर्यनको सुमधुर सम्बन्ध छ । चलचित्र ‘आइ एम सरी’ मा यी दुईले सँगै काम गरेका थिए । चलचित्रमा उनीहरु मिल्ने साथीको भूमिकामा थिए । आर्यनकै सिफारिसमा निर्देशक दिनेश राउतले चलचित्रमा विशाललाई अभिनय गराएका थिए । प्राप्त जानकारी अनुसार, अभिनेता आर्यनले नै विशाललाई चलचित्र मेकिङको अध्ययन गर्न अमेरिका पठाएका हुन् ।

‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशक विशालले लिड रोलमा आर्यनभन्दा बाहेक अरुलाई सोच्न पनि सकेका छैनन् । आर्यनसँग उनको चलचित्रलाई लिएर थुप्रै पटक कुराकानी भैसकेको स्रोत बताउँछ । आर्यनले चलचित्र गर्नका लागि सहमति जनाइसकेको बुझिएको छ । तर, उनले आफूलाई चलचित्र अफर नभएको भन्दै स्पष्टिकरण दिएपछि भने केही अन्योलता छाएको छ ।
बुधवार राजधानीमा आयोजित चलचित्र ‘सेल्फी किङ’ को प्रिमियरमा अभिनेता आर्यन पनि उपस्थित भएका थिए । चलचित्र हेरेर निस्किएपछि उनलाई सञ्चारकमीले ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा अभिनय गर्न लागेको विषयमा सोधे । तर, उनले यसको जवाफ दिएनन् । उनी यो विषयमा बोल्न नचाहनुलाई धेरैले आर्यन नेपाली ‘अर्जुन रेड्डी’ बन्ने निश्चित भएको अनुमान लगाएका छन् ।




