एक समयका एक्सन सुपरस्टार विराज भट्ट निर्देशित, निर्मित तथा अभिनीत एक्सन प्रधान चलचित्र ‘साङ्लो’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रवार र शनिवार चलचित्रको व्यापार राम्रो रहेको वितरकले बताएका छन् । चलचित्रले मल्टीप्लेक्समा दर्शक तान्न नसके पनि सिंगल थिएटरमा भने शुक्रवार र शनिवार देशैभर लगभग हाउसफुलको व्यापार गरेको छ ।

शुक्रवार चलचित्रले सिंगल स्क्रिनमा ५० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको थियो । भने, शनिवार ८० प्रतिशत आसपास रह्यो । शनिवार राजधानी र मोफसलका प्रमुख स्टेशनमा दर्शकको उच्च चाप देखिएको थियो । मल्टीप्लेक्समा भने चलचित्रको अकुपेन्सी सन्तोषजनक छैन । मल्टीप्लेक्समा ‘साङ्लो’ भन्दा अभिनेता विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ को अकुपेन्सी माथि छ ।
काठमाडौं भ्यालीका लागि ‘साङ्लो’ वितरक गोपालकाजी कायस्थले तिहारपछि हलको विहानी सोज चलेको भन्दै खुसी व्यक्त गरे । पुष्पाञ्जली र सिद्धार्थ हलका सञ्चालक समेत रहेका उनले भने- ‘तिहारपछि कुनै नेपाली नचल्दा देशभरका सिंगल थिएटरका विहानी शोज कटौती हुँदै आएका थिए । ‘साङ्लो’ रिलिज भएसँगै हलमा विहानदेखि बेलुकासम्म दर्शकको भीड लागेको छ ।’
चलचित्र हेरेका दर्शकले विशेषगरि अभिनेता विराज भट्टको एक्सन रुचाएका छन् । कथावस्तु र प्रस्तुतीकरणलाई लिएर भने मिश्रित प्रतिक्रिया छ । विराज शनिवार दर्शक प्रतिक्रिया बुझ्न राजधानीका केही सिंगल थिएटरमा अभिनेत्री निकिता चाण्डकको साथमा पुगेका थिए । दिउँसो राजधानीको गोपीकृष्ण हल पुग्दा उनलाई दर्शकले ‘बाघ फर्कियो’ भन्दै ठूलो हुटिङ गरेका थिए ।

धेरैपछि नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा अभिनेता विराज खुसी देखिन्थे । उनले गोपीकृष्णको बालकुनीमा उभिएर दर्शकलाई हात जोडेर अभिनन्दन गर्दै चलचित्रको गीत र संवाद बोलेर सुनाए । त्यहाँ उनीसँग सेल्फी खिच्न र हेर्नका लागि दर्शकको थामिनसक्नुको भीड लागेको थियो । हलमा चलचित्र हेर्न विशेषगरि १६ देखि २५ वर्ष उमेर समुहका दर्शकहरु बढी देखिन्थे ।
अभिनेता विराजले चलचित्रलाई साथ र माया दिएकोमा दर्शकलाई धन्यवाद दिँदै भने- ‘मलाई यस स्थानसम्म दर्शकले ल्याउनु भएको हो । र, लामो समयपछि दर्शकमाझ आउँदा यतिको स्वागत होला भन्ने सोचेको थिएन । मायाको लागि धन्यवाद ।’ चलचित्रलाई उनी आफैंले निर्देशन गरेका हुन् । ‘साङ्लो’ मा उनको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डकले अभिनय गरेकी छन् ।
भिडियोमा हेर्नुहोस् हलमा देखिएको विराज भट्टको क्रेज :-




