दर्शकले रुचाए ‘सेल्फी किङ’



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको विशाल सापकोटाको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र ‘सेल्फी किङ’ ले मल्टीप्लेक्सतर्फ दर्शकको राम्रो साथ पाएको छ । शुक्रवार अपेक्षाकृत व्यापार गर्न नसकेको अभिनेता विपिन कार्की स्टारर यो चलचित्रले शनिवार भने मल्टीप्लेक्सले उपलब्ध गराएका सोजमा दर्शक भरिभराउ देखिएका थिए ।

सिंगल थिएटरमा भने चलचित्रको व्यापार सन्तोषजनक छैन । शनिवार निर्देशक विशाल सापकोटा, अभिनेता विपिन कार्की र निर्माता दिनेश राउतले राजधानीका विभिन्न मल्टीप्लेक्स हलमा पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए । अभिनेता विपिनले दर्शकले चलचित्रलाई रुचाएकोमा खुसी व्यक्त गरे । स्क्रिप्टभन्दा बाहिर नगइ चलचित्र बनेको बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरे ।

अभिनेता विपिनले दर्शकबाट प्राप्त प्रतिक्रिया सुनाउँदै भने- ‘राम्रो र सरल चलचित्र भन्दै दर्शकले प्रशंसा गर्नुभएको छ । दर्शकबाट जुन प्रकारको प्रतिक्रिया पाएको छु त्यसबाट म सन्तुष्ट छु ।’ उनी चलचित्रको आउटपुटबाट पनि सन्तुष्ट देखिए । उनले अगाडि थपे- ‘हामीले जस्तो चलचित्र बनाउने सोच बनाएका थियौं त्यो लगभग पूरा भएको छ । स्क्रिप्टभन्दा बाहिर गएर चलचित्र बनेको छैन ।’

अमेरिकामा चलचित्र मेकिङको अध्ययन गरेर नपाल फर्किएका निर्देशक विशाल सापकोटाले दर्शकबाट प्राप्त प्रतिक्रियाले उत्साहित भएको बताए । चलचित्र प्रदर्शनभन्दा अगाडि उनले एक हास्यकलाकारको जीवनमा घटेको एउटा घटनालाई ड्रामाटाइज गरेर ‘सेल्फी किङ’ मा देखाइएको बताएका थिए । शनिवार उनले सञ्चारमाध्यमसँग कुराकानी गर्दै ती हास्यकलाकारको नाम खुलाए ।

हास्यटेलिश्रृंखला ‘हर्के हवल्दार’ मा प्रमुख भूमिका निभाउँदै आएका विष्णु सापकोटा निर्देशक विशालका काका रहेछन् । उनले आफ्नै काकाको जीवनमा घटेको एक घटनालाई ड्रामाटाइज गरेर चलचित्रमा प्रस्तुत गरेको बताए । तर, आफ्नो काकाको जीवनीमा आधारित भएर चलचित्र नबनेको उनले प्रस्ट्याए । ‘सेल्फी किङ’ को कथा पनि निर्देशक सापकोटा आफैंले लेखेका हुन् ।

निर्देशक टर्न निर्माता दिनेश राउतले चलचित्रको ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण आइतवारबाट हलमा दर्शकको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने- ‘कमर्शियल चलचित्र जस्तो ‘सेल्फी किङ’ को सुरुवाती व्यापार आक्रामक हुँदैन भन्ने हामीलाई पहिल्यै थाहा थियो । तर, चलचित्रको ‘वर्ड अफ माउथ’ राम्रो छ । त्यसैले चलचित्र लामो रेसको घोडा बन्छ भन्नेमा विश्वस्त छु ।’

चलचित्रले एक हास्यकलाकारको तीन दिनको कथा भन्छ । चलचित्रको केन्द्रिय भूमिकामा विपिन छन् । उनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । चलचित्रमा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । चलचित्रको एक गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu