सेलिब्रेटीको नजरमा कस्तो ‘सेल्फी किङ’ ?



शुक्रवारबाट प्रदर्शनमा आएको विशाल सापकोटा निर्देशित तथा विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ निर्माताले आइतवार चलचित्र क्षेत्रका विभिन्न व्यक्तिलाई निम्त्याएर चलचित्र देखाएका छन् । चलचित्र हेर्न कुमारी हलमा निर्माता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अभिनेता तथा निर्देशक नवल खड्का, अभिनेत्रीद्व वर्षा राउत र सुरक्षा पन्तलगायत पुगेका थिए । उनीहरुले चलचित्र राम्रो बनेको भन्दै प्रशंसा गरे ।

निर्देशक आकाश अधिकारीले चलचित्र केही सुस्त भए पनि कथावस्तुले मन छोएको बताए । ‘चलचित्रमा उठाइएको विषयवस्तु यथार्थपरक छ । निर्देशकले चलचित्रमा यथार्थ प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । फिलिङ्सको सब्जेटमा चलचित्र बनेको छ । प्रस्तुती अलि लेन्दी मात्र भएको हो,’ उनले भने । अर्का निर्देशक नवल खड्काले चलचित्र यथार्थपरक र मर्मस्पर्शी लागेको बताए ।

अभिनेत्री सरिता गिरीले पनि आफूलाई चलचित्र मन परेको बताइन् । चलचित्रमा विपिन कार्कीले निर्वाहा गरेको क्यारेक्टरमा आफूलाई रिलेट गरेको उनको भनाई छ । त्यस्तै, अभिनेत्री वर्षा राउतले चलचित्रको क्लाइमेक्समा आफू गहभरी भएको बताइन् । ‘यो चलचित्र आम मानिसले हेर्नुपर्छ जस्तो मलाई लाग्छ । यो चलचित्रले सायदै कसैको जीवनमा केही फरक पर्नसक्छ,’ उनले भनिन् ।

१० मा ८ रेटिङ दिँदै वर्षाले अगाडि भनिन्, ‘छोरा र पिताको सम्बन्ध कहिले काहिँ नराम्रो भैरहेको हुन्छ । यो चलचित्रले सम्बन्ध दह्रिलो तथा आत्मीय बनाउन मद्दत गर्नसक्छ । मलाई निर्देशकको काम पनि मनपर्‍यो । नयाँ निर्देशक भए पनि उहाँले धेरै होमवर्क गरेर आउनुभएको छ जस्तो लाग्यो । मलाई विपिन काकीदेखि सबै कलाकारको काम मनपर्‍यो । चलचित्र राम्रो र सरल बनेको छ ।’

अभिनेत्री सुरक्षालाई भने चलचित्रले खासै छुन सकेनछ । तर, निर्देशक विशाल सापकोटाको पहिलो प्रयासको भने उनी प्रशंसा गर्छिन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘पहिलो प्रयासमा निर्देशक विशाल जीले यस्तो कथावस्तु छानेर ‘अटेम्प्ट’ गर्नु नै हामीले मनैदेखि स्वागत गर्नुपर्छ । चलचित्र हेर्दा थाहा हुन्छ कि चलचित्रका लागि उहाँको ‘इन्टेन्सन’ एकदमै सफा छ ।’

निर्देशकको पहिलो प्रयासमा केही कमजोरी भने देखिएको उनको भनाई छ । कतिपय ठाउँमा आफू कनेक्ट हुन नसकेको बताउँदै सुरक्षाले अगाडि भनिन्, ‘चलचित्रमा कुनै कुनै चिज अहिलेसम्म नदेखेको प्रयोग पनि छ । क्यामेरा वर्क र निर्देशकको रियल लाइफको निरिक्षण राम्रो छ । निर्देशकले जे देखाउन खोज्नुभएको छ त्यो रिलेट हुन्छ तर रिलेट भएपछि त्यो ब्रेक भैरहेको छ ।’

निर्देशकको स्क्रिप्टमा वर्कआउट नपुगेको उनी बताउँछिन् । उनी विपिन कार्कीको कामबाट पनि सन्तुष्ट देखिइनन् । ‘विपिन दाईबाट अझ फरक हेर्न पाइन्छ कि भन्ने हामीमा अपेक्षा जागेको छ । उहाँले ‘आउट अफ बक्स’ जुन गर्नुहुन्छ त्यसमा मोहर छाप लगाइसक्यौं । तर, उहाँबाट हामी योभन्दा पनि अझ फरक खोज्छौं । उहाँको अभिनयमा खासै विविधता देखिन्न,’ उनी सुनिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu