४ वर्षपछि नेपाली चलचित्रमा फर्किएका अभिनेता विराज भट्ट शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘साङ्लो’ को सिक्वेल निर्माणको सोचमा देखिएका छन् । चलचित्र बक्सअफिसमा लगानी उठाउन संघर्ष गरिरहँदा दर्शकबाट सिक्वेलको चर्को माग आएका कारण आफू ‘साङ्लो २’ को बारेमा सोचिरहेको उनले बताए । तर, सिक्वेल बनाउने निर्णय गरिनसकेको उनी बताउँछन् ।
आइतवार हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका अभिनेता विराज भट्टले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘दर्शकले चलचित्र एकदमै रुचाउनुभएको छ । उहाँहरुले नै ‘साङ्लो’ को सिक्वेल बनाउन आग्रह गर्नुभएको हो । चलचित्रले जुन हिसाबमा व्यापार गरिरहेको छ त्यसलाई हेर्दा सिक्वेल बन्ने सम्भावना प्रवल छ । दर्शकहरुले चाहनुभयो भने म अर्को चलचित्र ‘साङ्लो २’ नै निर्माण गर्छु ।’

चलचित्र हेर्न हल आउने दर्शक प्रायः युवा पुस्ता बढी देखेको उनले बताए । ‘पहिला पनि मेरो चलचित्र हेर्न युवा पुस्ताका दर्शक नै धेरै हुन्थे । अहिले पनि युवा पुस्ता नै बढी देखेँ । चलचित्र राम्रो बन्यो भने हरेक पिढीले इन्जोय गर्छ भन्ने कुरा ‘साङ्लो’ ले प्रमाणित गरेको छ,’ उनी सुनिए । आफू नेपाली चलचित्रमा सक्रिय हुनुपर्ने दर्शकको चाहना अब पूरा गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।
अभिनेता विराज भट्ट स्वयंले निर्देशन गरेको चलचित्र हो यो । यसमा उनको जोडी पूर्व मिस नेपाल निकिता चाण्डकसँग बाँधिएको छ । दर्शकले चलचित्रमा विराजको एक्सन विशेष रुचाएका छन् । कथावस्तु र प्रस्तुतीलाई लिएर भने मिश्रित प्रतिक्रिया छ । चलचित्रमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलालाकारहरुको अभिनय छ ।




