नेपाली चलचित्रमा हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेता हुन्, सुशील श्रेष्ठ । अग्लो कद, चकलेटी लुक्स र आकर्षक शरीरका कारण उनलाई डेब्यू चलचित्र ‘होस्टेल रिर्टन्स’ ताका सम्भावना बोकेको अभिनेताको रुपमा लिइएको थियो । तर, यो चलचित्रपछि उनले हिटको सुख प्राप्त गर्न सकेका छैनन् । आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको ‘लभ डायरीज’ बाट भने उनी निकै आशावादी छन् । चलचित्रमा उनले मोजमस्तिमा तल्लिन हुने युवकको भूमिका निभाएका छन् ।
यो चलचित्रको एक सिनमा सुशील टपलेस अवतारमा देखिएका छन् । छायांकन बेलाको एक तस्विरमा उनी तावेल मात्र लगाएको अवस्थामा देखिएका छन् । तर, चलचित्रको ट्रेलरमा भने त्यो दृश्य राखिएको छैन । उनले पहिलो पटक सर्ट खोलेर आफ्नो ज्यान देखाएका भने होइनन् । यसअघि उनी ‘होस्टेल रिर्टन्स’ र ‘कारखाना’ चलचित्रमा पनि सर्टलेस अवतारमा प्रस्तुत भएका थिए ।
सबैलाई थाहा छ कि सुशीलको शरीर सुगठित छ । उनी दैनिक जिममा घन्टौं विताउने गर्दछन् । तर, हरेक चलचित्रमा आफ्नो ज्यान देखाउन उनी किन आतुर हुन्छन् ? आफ्नो शरीर राम्रो भएको देखाउनका लागि त होइन ? आइतवार एक भेटमा उनले आफूलाई चलचित्रमा ज्यान देखाउन मन नलाग्ने बताए । चलचित्रको कथाको मागका कारण ज्यान देखाउने गरेको उनको भनाई छ ।

उनले भने, ‘मेरो शरीर त्यस्तो थिएन । म दुब्लै थिए । ‘लभ डायरीज’ कै लागि मैले सिक्स प्याक बनाएको हुँ । चलचित्रमा त्यो सिच्वेसनको माग हो । मेरो रहरले देखाएको होइन ।’ उनी आफ्नो ज्यान देखाएर आफैं दिक्क भैसकेका रहेछन् । ‘अहिले विज्ञापनमा समेत बडी देखाउन भन्नुहुन्छ । कति ज्यान मात्र देखाउने भनेर अहिले सर्टलेस हुन कम गरिसकेको छु,’ उनी सुनिए ।
‘होस्टेल रिर्टन्स’ पछि अभिनेता सुशील प्रायः लभर ब्वाईकै भूमिकामा देखिँदै आएका छन् । हरेक चलचित्रमा उनको भूमिका लगभग एकैखाले छ । कलाकार भएपछि एकैखाले भूमिकामा रुमलिनु राम्रो हो ? पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘डेब्यू चलचित्रमा मलाई लभर ब्वाईको भूमिकामा रुचाइयो । बीचमा मैले भिन्न भूमिका गर्ने प्रयास नगरेको होइन । तर, दर्शकले रुचाउनुभएन ।’
उनले ‘लभ डायरीज’ मा पनि आफू लभर ब्वाईकै भूमिकामा रहेको बताए । तर, दर्शकलाई आफ्नो भूमिका मनपर्ने उनको विश्वास छ । त्रिकोणात्मक प्रेमकथामा निर्मित चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । प्रेम दिवसबाट प्रदर्शन हुने चलचित्रमा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।




