‘गंगाजल’, ‘अपहरण’, ‘राजनीति’ जस्ता चलचित्र दिएर दर्शकको विश्वास जितेका भारतीय निर्देशकका निर्देशक प्रकाश झा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा सहभागी हुन नेपाल आइपुगेका छन् । बिहीबार राजधानीको राष्ट्रिय सभा गृहमा भएको फेस्टिभलको उद्घाटन कार्यक्रममा उनले फिल्म फेस्टिभल कलाको उत्सव भएको बताउँदै आफू नेपालमा विभिन्न देशका संस्कृति चलचित्रमार्फत् हेर्न उत्सुक रहेको बताए ।

निफमा स्वदेशी तथा विदेशी चलचित्रको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी पाएका उनले फेस्टिभलमा उत्कृष्ट नेपाली फिल्म पनि हेर्न पाउने विश्वास व्यक्त गरे । ४० वर्षदेखि चलचित्रमा काम गरिरहेको बताउँदै उनले हरेक दिन इन्जोय गरिरहेको बताए । ‘४० वर्षदेखि चलचित्रमा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोय नगरेको हुँ,’ झा सुनिए ।
उनले नेपाल आफ्नो दोस्रो घर रहेको पनि बताए । ‘म नेपालको बोर्डर बिहारमा जन्मिएको हुँ । मलाई नेपाल दोस्रो घर जस्तै लाग्छ । हाम्रा गाइवस्तु समेत चर्नलाई नेपाल जान्थे । यसरी नेपालसँगको नाता गहिरो भए पनि काठमाडौं आएको भने पहिलो पटक हो । चलचित्र कारणले नेपाल आउन पाउँदा खुशी लागेको छ,’ झाले भने । उनी पहिलो पटक नेपाली चलचित्र हेर्न निकै उत्सुक देखिए ।

सभामुख अग्नि सापकोटाले पानसमा बत्ति बालेर नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन गरेका थिए । उनले कार्यक्रममा फेस्टिभल जीवन्त र सजिव अन्तरक्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय चलचित्र निर्माणमा नेपाली चलचित्रकर्मीलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे । बिहीवारबाट सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममा चल्नेछ ।

फेस्टिभलमा सहभागी हुन ४० देशका चलचित्रकर्मी नेपाल आइपुगेको निफका अध्यक्ष केपी पाठकले बताए । उनले महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राखे । निफ उद्घाटनको अवसरमा चाइनीज चलचित्र ‘कम्पोजर’ देखाइएको थियो । शुक्रवार भने डिजिटल चलचित्र सम्बन्धि वर्कसप हुँदैछ ।




