‘आशिकी २’ सँग ‘म यस्तो गीत गाउँछु २’ मिले लेखक शिवमले सन्यास लिने



यही फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘म यस्तो गीत गाउँछु २’ लाई कथा चोरीको आरोप लागेको छ । बलिउड चलचित्र ‘आशिकी २’ को नेपाली भर्सन भन्दै अहिले सामाजिक सञ्जालमा फिल्मको आलोचना भैरहेको छ । बिहीवार सार्वजनिक भएको चलचित्रको ट्रेलरमा १० प्रतिशत कमेन्ट ‘आशिकी २’ बाट हुबहु कथा चोरिएको भन्ने छ ।

‘आशिकी २’ र ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर हेर्दा कथाको प्लटमा परिस्थिति मिल्दोजुल्दो छ । ‘आशिकी २’ मा आदित्य रोय कपूर चर्चित गायक हुन्छन् । उनको भेट श्रद्धा कपूरसँग हुन्छ । श्रद्धाको स्वर राम्रो हुन्छ । उनी एक रेस्टराँमा जीविको पार्जनका लागि गायिकाको रुपमा काम गरिरहेकी हुन्छिन् । उनको स्वर दुनियाँमाझ पुर्‍याउन आदित्यले गर्ने संघर्षमा चलचित्र घुमेको छ ।

‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर ‘आशिकी २’ भन्दा भिन्न लाग्दैन । ट्रेलरमा देखाइए अनुसार, सुदर्शन थापा निर्देशित चलचित्रमा पल विक्रम शाह चर्चित गायक हुन्छन् । उनको गायनको ठूलो फ्यान हुन्छिन्, छाँया उर्फ पूजा शर्मा । उनको पनि गायनमा रुचि छ । तर, अवसर पाएकी हुन्नन् । छाँयासँग भेट भएपछि पलले उनलाई गायिका बनाउन आफ्नो स्टारडम नै दाउमा राख्छन् ।

‘म यस्तो गीत गाउँछु २’ को कथाको प्लट हेर्दा ‘आशिकी २’ सँग मिल्दोजुल्दो देखिन्छ । तर, ‘म यस्तो गीत गाउँछु २’ का लेखक शिवम् अधिकारीले म्यूजिकल लभस्टोरी भएका कारण ‘आशिकी २’ फ्लेवर लागेको हुनसक्ने बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै ‘आशिकी २’ बाट कथा चोरिएको प्रमाणित भए आफू नेपाली चलचित्रबाटै सन्यास लिने पनि घोषणा गरेका छन् ।

निर्देशक सुदर्शन थापाले भने चलचित्रलाई चोरीको आरोप लगाउन एउटा समुह नै लागिपरेको दाबी गरेका छन् । त्यस्तै, अभिनेत्री पूजा शर्माले सबै म्यूजिकल लभस्टोरी चलचित्रलाई ‘आशिकी २’ सँग मिल्यो भनेर टिप्पणी गर्नु गलत रहेको बताएकी छन् । ३ मिनेटको ट्रेलर हेरेर चलचित्रको टिप्पणी नगर्न उनको आग्रह छ । उनले दर्शकलाई चलचित्र हेरेपछि टिप्पणी गर्न आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu