यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको त्रिकोणात्मक प्रेमकथामा आधारित सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरीज’ लाई दर्शकले मन पराएका छन् । शुक्रवार औसत व्यापार गरेको चलचित्रले शनिवार सिंगल र मल्टीप्लेक्स दुवैतर्फ ६५ प्रतिशत अकुपेन्सी कायम गरेको रिपोर्ट प्राप्त छ । वितरकले शनिवार चलचित्र देशैभर हाउसफुल भएको जानकारी दिएका छन् ।
शुक्रवार र शनिवार चलचित्रका प्रमुख कलाकारहरु सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमालले राजधानीका विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए । हलमा उनीहरूलाई दर्शकले घेरेर अटोग्राफ र सेल्फी लिनुका साथै चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका थिए । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले मेहेनतको फल मीठो मिलेको भन्दै अभिनेता सुशीलले खुसी व्यक्त गरे ।

शनिवार दर्शक प्रतिक्रिया बुझेपछि खुसी मुद्रामा उनले सञ्चारकर्मीसँग भने, ‘दुई वर्षसम्म चलचित्रका लागि गरेको मेहेनत सफल भएको अनुभूति भएको छ । हामीले सोचेभन्दा पनि राम्रो प्रतिक्रिया दर्शकबाट पाएका छौं । दर्शकले चलचित्र रुचाइदिनु नै हाम्रो सफलता हो ।’ यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रुविना दर्शकले आफ्नो काम रुचाइदिएकोमा खुसी देखिइन् ।
वितरक करण श्रेष्ठले शनिवार चलचित्रले सिंगल र मल्टीप्लेक्स सबैतिर दर्शकको राम्रो साथ पाएको बताए । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण चलचित्र हलमा लामो रेसको घोडा बन्ने उनको विश्वास छ । चलचित्र हेरेका दर्शकले विशेषगरि अभिनेत्री रुविनाको काम रुचाएका छन् । उनको सुन्दरताको पनि धेरैले प्रशंसा गरेका छन् । चलचित्रको क्लाइमेक्स राम्रो रहेको पनि दर्शक प्रतिक्रिया छ ।
विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा विनोद सापकोटाको मुख्य लगानी रहेको छ । ‘ट्रेलर मास्टर’ साहिल खान सह-निर्देशक रहेको चलचित्र ‘लभ डायरिज’ मा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् ।




