महाशिवरात्रीको अवसर पारेर यही फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतमा प्रमोद खरेल र विद्या मन्जु तिवारीको संयुक्त गायन रहेको छ भने हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत छ । यो गीतको केही दिन अगाडि चितवनमा निर्माणाधिन ‘गौतम बुद्ध क्रिकेट रंगशाला’ मा छायांकन गरिएको हो ।
दीपक आचार्यको निर्देशन, चन्दन दत्तको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन र एलिस राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका कलाकारहरु विल्सन विक्रम राई, सन्दिप क्षेत्री, कुञ्जना घिमिरे, पुष्पा आचार्य, मधुसुदन पाठक, सञ्जु शाह र एलिस राईलगायत फिचर्ड छन् । भिडियोमा दुई फरक पार्टीका नेता तथा कार्यकर्ताबीचको घम्साघम्सी देखाइएको छ ।

निर्देशक रामबाबु गुरुङले यो गीतको भिडियो चलचित्रको प्रचारका लागि मात्र तयार गरिएको बताए । श्रीमान्(श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ । यो चलचित्रको ट्रेलर र ‘फनफनी’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ चलचित्रको केन्द्रिय भूमिकामा छन् ।
चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाल, सुनिता घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।
गीत हेर्नुहोस् :-




