‘आमा’ पाउनु मेरो सौभाग्य : मिथिला शर्मा



अभिनयमा पारंगत मानिन्छिन्, अभिनेत्री मिथिला शर्मा । आफूले पाएको भूमिकालाई न्यायपूर्वक निर्वाहा गर्न उनी सिपालु छिन् । झण्डै चार दशकदेखि अभिनयमा सक्रिय उनले वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’ बाट रङ्गिन दुनियाँमा प्रवेश गरेकी थिइन् । उनी पछिल्लो समय चलचित्रमा अभिनेता वा अभिनेत्रीको आमाको भूमिकामा देखिने गरेकी छन् ।

स्वर्गीय निर्देशक शिव रेग्मी निर्देशित चलचित्र ‘सुख–दुःख’ मा अभिनय गरेपछि ठूलो उचाइ हासिल गरेकी अभिनेत्री मिथिला २०५० सालमा प्रदर्शनमा आएको चलचित्र ‘दिदी’ लाई आफ्नो करिअरको पहिलो टर्निङ पोइन्ट मान्छिन् । यो चलचित्रपछि आफूलाई दर्शकले दिदीको रुपमा सम्बोधन गर्न थालेको उनको भनाई छ । अब, उनको यो परिचय चलचित्र ‘आमा’ ले परिवर्तन गरेको छ ।

उनी यो चलचित्रलाई आफ्नो करिअरको दोस्रो टर्निङ पोइन्ट बताउँछिन् । एक भेटमा उनले भनिन्, ‘हरेक मानिसको जीवनमा एउटा टर्निङ पोइन्ट आउँछ । ‘दिदी’ मेरो करिअरको पहिलो टर्निङ पोइन्ट थियो । यो चलचित्रपछि मलाई दर्शकले दिदी भनेर सम्बोधन गर्नुभएको थियो । ‘आमा’ गरेपछि मलाई धेरैले आमा भन्न थाल्नुभएको छ । त्यसैले म यसलाई दोस्रो टर्निङ पोइन्ट मान्छु ।’

अभिनेत्री मिथिला शर्मा ‘आमा’ मा काम गर्न पाउनु आफ्नो करिअरको सबैभन्दा ठूलो उपलब्धि मान्छिन् । उनले एक दिन लगाएर आफूले निर्वाहा गर्ने चरित्रबाट निर्देशक दीपेन्द्र के. खनालले के चाहन्छन् भनेर बुझेको बताइन् । उनले अगाडि भनिन्, ‘दीपेन्द्र जीले मैले निर्वाहा गर्ने चरित्रबाट के चाहनुहुन्छ भनेर एक दिन लगाएर बुझेँ । त्यसपछि म उहाँको सोचअनुसार अगाडि बढेको हुँ ।’

अभिनेत्री मिथिला शर्माको हातमा भाग्यवस परेको थियो, ‘आमा’ । उनीभन्दा अगाडि चलचित्रमा सूर्यमाला खनाल अनुबन्ध भएकी थिइन् । उनले व्यक्तिगत कामका कारण फिल्म गर्न नसक्ने भएपछि मिथिला भित्रिएकी थिइन् । यो चलचित्र छाड्नु सूर्यमालाको ब्याडलक मानिन्छन्, उनी । ‘आमा’ जस्तो चलचित्रमा कमै कलाकारले अभिनय गर्ने अवसर पाउने उनको कथन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu