गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित चलचित्र ‘बुलबुल’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा सर्वाधिक अवार्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । फेस्टिभलमा यो चलचित्रले डबल ह्याट्रिक अर्थात् ६ वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ । सोमवार समापन फेस्टिभलमा चलचित्रले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो ।
‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले पटकथा र निर्देशकको विधामा अवार्ड हात पार्दा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड उचालिन् । जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुषाल र लक्ष्मी बर्देवाले प्राप्त गरे । यो चलचित्रले यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिरहेको छ ।

पाँच दिनसम्म राजधानीमा चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली सर्ट चलचित्रतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले प्राप्त गर्दा इन्टरनेसनल सर्ट चलचित्रतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको ‘अन्ना’ ले आफ्नो पक्षमा पारेको छ । नेपाली सर्ट चलचित्रतर्फको अवार्ड ‘कलम’ ले जित्दा यही चलचित्रबाट निर्देशक प्रविनकुमार राउत जुरीको नजरमा उत्कृष्ट ठहरिए ।
सर्ट चलचित्र तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको ‘दिअदर हाफ’ ले पाउँदा बहुपति प्रथाको कथामा बनेको गणेश पाण्डे निर्देशित ‘को हस्बेन्ड’ ले डकुमेन्ट्री विधातर्फ माउन्ट एभरेस्ट अवार्ड नामको १ हजार अमेरिकी डलर राशीको अवार्ड जित्यो । भने, मञ्जुश्री अवार्ड नाम दिइएको ७ सय अमेरिकी डलर राशीको एनिमेटेड विधाको अवार्ड चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ ले पायो ।
अन्तर्राष्ट्रिय सर्ट चलचित्रको विधातर्फ भारतीय चलचित्र ‘नुरी’ उत्कृष्ट ठहरियो । यसमा भारत-पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा भनिएको छ । बागमती अवार्ड नामको यो पुरस्कारको राशी ५ सय अमेरिकी डलर थियो । निफको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ‘ट्रयाप’ ले आफ्नो पोल्टामा पार्यो । जितसँगै चलचित्रले १५ सय अमेरिकी डलर पाएको छ ।




