अभिनेता विपिन कार्की, अभिनेत्री द्वय सुरक्षा पन्त र वर्षा राउतको प्रमुख भूमिका रहेको दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ह्याट्रिक गरेको छ । चलचित्रले तीनवटा विधामा अवार्ड जितेको छ । सोमवार समापन भएको फेस्टिभलमा चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड, उत्कृष्ट अभिनेता र उत्कृष्ट छायांकन जुरी अवार्ड प्राप्त गर्यो ।

‘गोपी’ बाट उत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले हात पार्दा शेलेन्द्र डि. कार्कीले उत्कृष्ट छायाँकारतर्फको अवार्ड उचाले । यो चलचित्रले यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गरिएको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्र, उत्कृष्ट कथा र उत्कृष्ट पटकथा तथा संवाद विधामा पनि अवार्ड जितेको थियो ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा फिचर चलचित्रतर्फको निर्णायकको नेतृत्व भारतीय चलचित्र निर्देशक प्रकाश झाले गरेका थिए भने उनलाई मन्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राकले सघाएका थिए । त्यस्तै, श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा, युनी हाडी सदस्य थिए ।




