म कलालाई ‘जजमेन्ट’ गर्न सक्दिनँ : बुद्धि तामाङ



रंगमञ्च हुँदै चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गरेपछि एकाएक चर्चामा आएका कलाकार हुन्, बुद्धि तामाङ । जीवन्त अभिनयका कारण दर्शकमाझ लोकप्रिय उनले ‘मेरी बास्सै’ मा बोलेको ‘हैट’ थेगो धेरै दर्शकको मुखमा झुण्डियो । त्यसपछि उनको माग नेपाली चलचित्रमा नसोचेको गरि बढ्यो । अहिले उनलाई चलचित्रमा लिन निर्माताबीच हानाथाप हुने गर्दछ ।

केही वर्षयता कलाकार बुद्धि प्रायः बाह्रै महिना चलचित्रको सुटिङमा व्यस्त हुने गरेका छन् । आफू अभिनीत चलचित्र प्रदर्शनको संघारमा रहँदा उनी प्रचारमा पर्याप्य समय दिन पनि भ्याउँदैनन् । महिना दिनमै तीनवटासम्म चलचित्रको छायांकन भ्याउने उनीमाथि अहिले संख्यात्मक अभिनयमा जोड दिएको र पैसामुखी भएको आरोप लाग्ने गरेको छ । उनी पनि यो कुरा नकार्दैनन् ।

मंगलवार फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार बुद्धिले भने- ‘मैले संख्यात्मक रुपमा धेरै चलचित्र गरेको यथार्थ हो । तर, मैले संख्यात्मक हिसाबमा धेरै चलचित्र गर्नुमा मेरो आफ्नै ‘फिलोसफी’ (दर्शन) छ । म कलालाई राम्रो र नराम्रो भनेर ‘जजमेन्ट’ गर्न सक्दिनँ । मलाई कन्सेप्ट मनपर्‍यो र समय मिल्यो भने चलचित्र गर्छु ।’

उनी अहिले नेपाली चलचित्र क्षेत्रमा भैरहेको ‘प्राक्टिस’ लाई आफूले सकारात्मक रुपमा लिएको बताउँछन् । अहिले नेपाली चलचित्रकर्मीले गरेको ‘प्राक्टिस’ हेर्दा भविष्यमा स्तरिय चलचित्र बन्नेमा आफू आशावादी रहेको उनले बताए । आफू पूरा चलचित्र बोक्ने कलाकार नभएको बताउँदै उनले थपे- ‘म एउटा सपोर्टिङ एक्टर हुँ । मैले गर्दा चलचित्रको कथालाई सपोर्ट हुन्छ भने काम गर्छु ।’

कलाकार भएपछि संख्यात्मक हिसाबमा धेरै चलचित्र गर्नु राम्रो नहुने उनलाई पनि लाग्दोरहेछ । ‘कुनै चलचित्र असफल भयो भने मेरै कारणले पो होकि भन्ने सोच्छु । तर, असफलताले अर्को सुत्र पहिल्याउन सघाउँछ जस्तो मलाई लाग्छ । चलचित्रकर्मीलाई पनि एक प्रकारको ‘प्राक्टिस’ हुन्छ,’ उनी सुनिए । तर, कलाकार बुद्धि आफू पैसामुखी भएको आरोप स्वीकार गर्ने पक्षमा देखिएनन् ।

पैसाकै लागि धेरै चलचित्र गरेको भए अहिलेसम्म काठमाडौंमा ‘बुद्धि निवास’ ठडिसकेको हुने उनको तर्क छ । ‘मैले धेरै चलचित्र पैसा कमाउनका लागि गरेको होइन । मैले गर्दा चलचित्रको कथालाई न्याय हुन्छ भने काम गर्छु । भ्याएसम्म र मिलेसम्म आराम नगरि चलचित्रमा काम गर्ने मेरो उद्देश्य हो,’ उनले भने । उनी अभिनीत नयाँ चलचित्र ‘सेन्टी भाइरस’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu