सुरक्षा भन्छिन्, ‘आमा’ गरेपछि क्यारेक्टरलाई खेलाउन सक्ने क्षमता बढ्यो’



अभिनेत्री सुरक्षा पन्तकोे प्रमुख भूमिका रहेको चलचित्र ‘आमा’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रका लागि उनले ठूलो त्याग गरेकी छन् । चलचित्रको क्यारेक्टरमा पूर्णरुपमा डुब्न उनले आफ्नो लोभलाग्दो कपाल खौरिइन् । चलचित्र हेर्दा दर्शकलाई वास्तविक लागोस् भन्नका लागि आफूले कपाल खौरिएको उनको भनाई छ । उनी कपाल खौरिन कथाका कारण राजी भएको बताउँछिन् ।

‘आमा’ मा आफूले गरेको अभिनय ‘एक्टिङ र नन एक्टिङ’ को बीचमा रहेको उनको कथन छ । यो चलचित्र गरेपछि आफूमा क्यारेक्टरमा डुब्ने क्षमताको विकास भएको उनी सुनाउँछिन् । एक भेटमा सुरक्षाले भनिन्, ‘एउटा कलाकार भएको हिसाबले ‘आमा’ मा काम गरेपछि अभिनयमा केही निखारता आएको छ । अझ गहिराइमा क्यारेक्टरलाई खेलाउन सक्ने क्षमता बढेको छ ।’

Surakshya Panta

‘आमा’ मा काम गर्दा एक हदसम्म अभिनयमा सन्तुष्टि मिलेको सुरक्षाको अनुभव छ । एउटा कलाकार अभिनयका क्रममा सधैँ चरम आनन्दको खोजीमा हुने गरेको भए पनि त्यो सबै चलचित्रबाट नपाइने उनी बताउँछिन् । तर, आफूले ‘आमा’ बाट धेरैपल्ट त्यो आनन्द पाएको उनले बताइन् । उनी चलचित्रमा आफूले निर्वाहा गरेको भूमिका र अभिनयलाई दर्शकले रुचाउनेमा विश्वस्त छिन् ।

‘पशुपति प्रसाद’ जस्तो उम्दा चलचित्र दिएका निर्देशक दीपेन्द्र के. खनालले ‘आमा’ को निर्देशन गरेका हुन् । यसकारण पनि यो चलचित्रप्रति दर्शकमा ठूलो अपेक्षा छ । उनी यो चलचित्र यथार्थसँग नजिक भएर बनेको बताउँछन् । चलचित्रमा आउने घटना र पात्रसँग दर्शक आफैं जोडिन पुग्ने उनले बताए । उनले ‘पशुपति प्रसाद’ हेरेका दर्शक ‘आमा’ हेरेपछि निराश नहुने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu