३० लाखमा विक्री भयो ‘प्रेमगीत ३’ को यूरोप राइट्स



छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको प्रेमकथामा निर्मित यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘प्रेमगीत ३’ को अहिले धमाधम विदेश राइट्स विक्री भैरहेको छ । हालै नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ५१ लाखभन्दा बढी मूल्यमा चलचित्र विक्री भएको थियो । यसबीच, यूके र यूरोपका आठ देशका लागि पनि चलचित्रको विक्री भएको छ ।

इनास चलचित्र प्रबर्द्धन समितिका ग्लोबल संयोजक मनिष श्रेष्ठले यूके र यूरोपका आठ देशका लागि २३ हजार ५ सय यूरो (नेपाली ३० लाख) मा चलचित्रको राइट्स खरिद गरेका हुन् । मंगलवार चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन र मनिष श्रेष्ठबीच कागजी सम्झौता भएको छ । योसँगै चलचित्रले नेपाल प्रदर्शनभन्दा अगाडि नै विदेश राइट्सबाट ८१ लाखभन्दा बढी कमाई गरेको छ ।

चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र नेपाली नयाँ वर्षको अवसर पारेर आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । क्रिस्टिनाले यही चलचित्रबाट डेब्यू गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu