मौलिक कथामा चलचित्र बनाउन सिपालु मानिने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ को लिरिकल भिडियो गीत सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको गीतमा सुशान्त गौतमको गायन छ । गीतमा उनी आफैंले संगीत भरेका छन् । गीतको शब्द हर्क साउदले सिर्जेका हुन् । गीतले चलचित्रका पात्रको पीडा भन्छ । चलचित्रमा यो गीत कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक गुरुङले बताए ।
श्रीमान्-श्रीमति दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ । यो चलचित्रको ट्रेलर र ‘फनफनी’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ चलचित्रको केन्द्रिय भूमिकामा छन् । पहिलो पटक ठूलो पर्दामा उनीहरुले स्क्रिन शेयर गरेका कारण यो चलचित्र दर्शकमाझ प्रतिक्षीत छ ।

चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।
कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा निर्माण भएको चलचित्रका सह-निर्माता फूर्पा लामा हुन् । यही शुक्रवारबाट प्रदर्शनमा आउने ‘सेन्टी भाइरस’ को बुधवारबाट मल्टीप्लेक्समा एडभान्स बुकिङ खुल्ला भैसकेको छ । चलचित्रले मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको छ ।
गीत हेर्नुहोस् :-




