चर्चित हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ केही दिनअघि चलचित्र ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले फिल्म हेरेको टिकट निर्माणाधिन रंगशालामा सहयोग हुने बताउँदै आफूबाट कुनै त्रुटि/कमी कमजोरी भएको भए माफी दिन अनुरोध गर्दै भावुक भए । तर, चलचित्र चलाउनका लागि उनले आँशुलाई हतियार बनाएको भन्दै विभिन्न खाले टिप्पणी भए ।
यस विषयमा सोमवार एक भेटमा कलाकार सितारामले भने- ‘कला क्षेत्रलाई सम्मानित र मर्यादित बनाउन र क्षेत्रगत हिसाबले राज्यलाई ढकढकाउन मद्दत पुग्छ कि भन्न सबैलाई अपिल गर्ने शिलशिलामा आएको एउटा इमोसन मात्र हो । त्यो इमोसन चलचित्र चलाउनका लागि थिएन । चलचित्र कथावस्तुले चल्छ । कोही रोएको भरमा दर्शक चलचित्र हेर्न हलसम्म आउँदैनन् ।’
नेपाली कलाकारको आँशु किन सस्तो बनिरहेको छ ? भन्ने पत्रकारको प्रश्नमा कलाकार कट्टेलले थपे- ‘रुन्छु भन्ने चिज सस्तो हुन्छ भनेर आउने होइन रहेछ । समाजमा नकारात्मक कुराहरु मात्र बढी हावी भैरहेको अवस्थामा सकारात्मक कुरालाई पनि आत्मसात् गरेर अगाडि लैजाउन भन्ने विषयमा केही तीता अनुभवहरु मात्र दर्शिएका हुन् । तर, त्यो चलचित्र चलाउनका लागि थिएन ।’

उनको छेवैमा रहेकी हास्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ ले कसैको पनि आँशु सस्तो नहुने बताइन् । ‘रुन त अरु पनि रुन्छन् । तर, हामी रोएको देखिन्छ, अरु रोएको देखिन्न । किनकि, हामी सेलिब्रेटी हौं । बस्ती निर्माणदेखि रंगशाला निर्माणसम्मका हाम्रा संघर्षहरु सबैलाई थाहा छ । त्यो संघर्ष उहाँ (सिताराम कट्टेल) को काहिँ कतै छचल्किएर पोखिएको मात्र हो,’ उनी सुनिइन् ।
‘धुर्मुस’ ले रंगशाला निर्माणपछि पूर्णरुपमा अभिनयमा सक्रिय हुने बताए । ‘हामी समय कालखण्डले सामाजिक कार्यमा होमिनु पर्यो । चाहना हुँदाहुँदै पनि लामो समय हामी अभिनयबाट टाढा भयौं । अब, रंगशाला निर्माण भएपछि अभिनयमा नै सक्रिय हुनेछौं,’ उनले ‘सेन्टी भाइरस’ को बारेमा जानकारी दिँदै थपे- ‘चलचित्रमा हरेक घरको कथालाई बिम्बात्मक रुपमा बुनेका छौं ।’
यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा ‘धुर्मुस सुन्तली’ सँगै दयाहाङ राई, सन्दिप क्षेत्री, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।




