एक्सनमा पोख्त मानिने अभिनेता विराज भट्टले चार वर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेको चलचित्र ‘साङ्लो’ गएको माघ २४ गते प्रदर्शनमा आएको छ । लामो समय भोजपुरी चलचित्र गरेपछि नेपाली चलत्रिमा फर्किएका विराजको स्टारडम यो चलचित्रले पुनः उत्कर्षमा पुर्याएको चर्चा भैरहेको छ । उनले निर्देशन, निर्माण र अभिनय गरेको यो चलचित्रको इनिसियल बक्सअफिस आक्रामक थियो ।
प्रदर्शनको दोस्रो दिन शनिवार सिंगल थिएटरमा ठूलो कमाई गरेको चलचित्रले भोली शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गर्दैछ । प्रदर्शनको दुई हप्तामा चलचित्रले लगानी सुरक्षित गर्यो त ? यो धेरैका लागि चासोको विषय हुनसक्छ । अभिनेता विराज भट्टले चलचित्रको कमाई गोप्य राखेका छन् । वितरक गोपालकाली कायस्थ भने चलचित्रलाई दिएको एमजीको रकम उठेको दाबी गर्छन् ।

वितरक कायस्थले भने, ‘चलचित्र हिट भयो वा फ्लप त्यो विराजजीलाई थाहा होला । तर, मैले चलचित्रलाई दिएको ३० लाख एमजी चाहिँ प्रदर्शनको दुई हप्तामा सजिलै उठेको छ । अहिलेको समयमा वितरकले निर्मातालाई दिने एमजीको रकम उठ्नु पनि ठूलो कुरा हो ।’ उनले चलचित्रको कमाई खुलाउन नचाहे पनि विराजले हलबाट मोटो रकम (शेयर) पाउने बताए ।
‘साङ्लो’ ले प्रदर्शनको दोस्रो दिन (शनिवार) आक्रामक व्यापार गरे पनि आइतवारबाट कमाईमा उछाल कायम गर्न सकेको थिएन । मल्टीप्लेक्समा दर्शकको चाप नहुँदा चलचित्रलाई सिंगल थिएटरको मात्र भर थियो । प्राप्त रिपोर्टअनुसार, यो चलचित्रबाट विराज भट्ट नाफा र घाटा दुवैमा छैनन् । एमजी, डिजिटल राइट्स र हलको शेयरबाट उनको लगानी उठ्ने देखिएको छ ।
वितरक कायस्थका अनुसार, अहिले अभिनेता भट्ट ‘साङ्लो २’ को तयारीमा जुटेका छन् । चलचित्रको स्क्रिप्टमा काम सुरु भैसकेको उनले बताए । यसपटक चलचित्रमा विराजसँगै मल्टीप्लेक्समा दर्शक तान्न अहिलेका एक चल्तीका अभिनेता पनि हुने बताइएको छ । चलचित्रलाई फेरि विराजले नै निर्देशन गर्नेछन् । अब, एक्सनका पारखी दर्शकहरुलाई ‘साङ्लो २’ को प्रतिक्षा रहनेछ ।




