महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ ले बक्सअफिसमा सुखद ओपनिङ गरेको छ । शुक्रवार मल्टीप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको चलचित्र शनिवार बिहानैदेखि देशभर हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । विशेषगरि चलचित्र हेर्ने दर्शकको चाप मल्टीप्लेक्समा राम्रो देखिएको छ ।
आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गरेको चलचित्रलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ । शुक्रवार चलचित्रका कलाकार, निर्देशक र निर्मात्री राजधानीका विभिन्न हल पुग्दा दर्शकहरु चलचित्र हेरेर भावुक हुँदै फर्किएका थिए । दर्शकले चलचित्रको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको प्रशंसा गरेका छन् । प्रायः दर्शकले चलचित्रलाई ‘मास्टरपिस’ भनेका छन् ।
चलचित्र हेर्न युवा वर्गका दर्शकहरु आमालाई साथ लिएर हल पुगेका छन् । चलचित्रको वितरणको जिम्मा लिएका करण क्रेजीले चलचित्र हेर्न हलमा नयाँ दर्शक बढी देखिएको बताए । परिवारसँग चलचित्र हेर्न आउने दर्शकको उपस्थिति बाक्लो रहेको उनको भनाई छ । उनले चलचित्रको शुक्रवारको कमाईबाट सन्तुष्ट रहेको बताउँदै शनिवारबाट हलमा दर्शकको ‘फ्लो’ बढेको जानकारी दिए ।

उनका अनुसार, चलचित्रले प्रदर्शनको दिन देशभर गरि ५४ लाख ग्रस कलेक्सन गरेको छ । शुक्रवारको तुलनामा शनिवार चलचित्रले दोब्बर कमाई गर्ने उनको विश्वास छ । उनी ‘आमा’ आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट वितरण रहेको बताउँछन् । निर्देशक दीपेन्द्र के. खनालले दर्शकले चलचित्रलाई शब्दमा व्यक्त गर्न नसकेको बताए । उनी चलचित्र हेरेर दर्शक निःशब्द भएको बताउँछन् ।
त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले दर्शक रुवाएकोमा दुःख लागेपनि मनदेखि नै दर्शक रोएको देख्दा खुशी लागेको बताइन् । निर्मात्री शर्मिला पाण्डेले ‘आमा’ जस्तो चलचित्र अब आफूले बनाउन नसक्ने बताइन् । माउथ पब्लिसिटी बलियो भएका कारण यो चलचित्र हलमा लामो रेसको घोडा बन्ने देखिएको छ । चलचित्रको इनिसियल व्यापारमा भने ‘सेन्टी भाइरस’ ले ठूलो असर गरेको छ ।
चलचित्रमा सुरक्षाका अलावा मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रको अधिकांश दृश्य दर्के झरीमा खिचिएको हो । ‘आमा’ हेरेपछि समीक्षकले निर्देशक दीपेन्द्र के. खनाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशनको ट्याग दिएका छन् । यो चलचित्रको कथा र छायांकन पनि उनी स्वयंको हो ।




