‘सेन्टी भाइरस’ को बम्पर व्यापार, हलमा ‘धुर्मुस-सुन्तली’ पुग्दा जे देखियो… (फोटो र भिडियोसहित)



शुक्रवार महाशिवरात्रीको सार्वजनिक विदाको अवसर पारेर प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित तथा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत चलचित्र ‘सेन्टी भाइरस’ ले बक्सअफिसमा सानदार कमाई गरेको छ । शुक्रवार नै एक करोड बाह्र लाख कमाउँदै बम्पर ओपनिङ गरेको चलचित्रले शनिवार पनि आक्रामक कमाई गरेको छ । शनिवार चलचित्रले कमाईमा ठूलो उछाल कायम गर्ने वितरकको भनाई छ ।

चलचित्रको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने ‘धुर्मुस सुन्तली’ ले घोषणा गरिसकेका छन् । यो घोषणाका कारण पनि चलचित्रले हलमा दर्शकको ठूलो भीड तान्न सफल भएको अनुमान गरिएको छ । ‘छ माया छपक्कै’ पछि सुस्ताएको नेपाली चलचित्रको व्यापार ‘सेन्टी भाइरस’ ले धेरै हदसम्म चलायनमान बनाएको छ ।

शुक्रवार चलचित्रले मल्टीप्लेक्स र सिंगल थिएटर दुवैतर्फ दर्शकको राम्रो साथ पाएको थियो । पहिलो दिनको तुलानामा शनिवार हलमा चलचित्र हेर्ने दर्शकको अत्याधिक चाप देखिएको छ । शनिवार दिउँसोको शोमा चलचित्रको टिकट समेत अभाव भएको हल सञ्चालकले बताएका छन् । मल्टीप्लेक्सहरुमा उच्च सोज पाएको चलचित्र हेर्न हलमा युवा पुस्ताका दर्शक बढी देखिएका छन् ।

शुक्रवार र शनिवार चलचित्रका प्रमुख कलाकार ‘धुर्मुस सुन्तली’ राजधानीका गोपीकृष्ण, अष्टनारायणलगायतका हल पुग्दा उनीहरुसँग सेल्फी खिच्न र हात मिलाउन दर्शकको ठूलो भीड लागेको थियो । भने, दर्शकले ‘सेन्टी भाइरसकी जय’ भन्दै नारा लगाएका थिए । चलचित्र हेरेर रंगशाला निर्माणमा सहयोग गरेको भन्दै ‘धुर्मुस सुन्तली’ ले दर्शकलाई धन्यवाद दिएका छन् ।

शनिवार बालाजुमा रहेको विएसआर मुभिजमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका कलाकार सितारामले चलचित्र हेर्दै गर्दा राष्ट्रका लागि पनि योगदान हुने बताए । चलचित्र हेर्न हलमा रहेका दर्शकलाई सम्बोधन गर्दै उनले भने- ‘तपाईंहरुले चलचित्र हेरेर मनोरञ्जन लिनुका साथै क्रिकेट रंगशाला निर्माणका लागि पनि सहयोग हुनेछ । तपाईंहरुले चलचित्रलाई दिनुभएको साथप्रति हामी नतमस्तक छौं ।’

त्यस्तै, कलाकार कुञ्जना घिमिरेले चलचित्र हेरेर रंगशाला निर्माण अभियानमा जोडिएकोमा दर्शकलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘रंगशालामा तपाईंहरुको पनि अपनत्व होस् भन्नका लागि हामीले यो चलचित्र लिएर आएका हौं । तपाईंहरुले चलचित्रलाई दिनुभएको साथप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । यो चलचित्रबाट मेरो २८ वर्षपछि अभिनेत्री बन्ने सपना पनि पूरा भएको छ ।’

राजधानीसँगै मोफसलका प्रमुख स्टेशनहरु पोखरा, बुटवल, विर्तामोड, इटहरी, दमक र चितवनका पर्दाहरुमा पनि चलचित्र शुक्रवार र शनिवार हाउसफुल रहेको वितरकले जानकारी दिएका छन् । दुई दिन परेको सार्वजनिक विदाको फाइदा चलचित्रले बक्सअफिसमा गजबले उठाएको छ । आइतवारबाट भने चलचित्रको कमाई कस्तो हुने भन्नेमा वर्ड अफ माउथले निर्धारण गर्नेछ ।

चलचित्रमा ‘धुर्मुस सुन्तली’ का अलावा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रका गीतमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाले संगीत भरेका छन् ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu