‘हिजो आजका कुरा’ गीतमा मदनकृष्णदेखि मिथिलासम्मको नृत्य (भिडियो)



आउँदो बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको साकार पन्तको डेब्यू निर्देशित चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको ‘माया जदौ’ बोलको गीत बलिउड चलचित्र ‘ओम शान्ति ओम’ को गीत ‘दिवान्गी दिवान्गी’ शैलीमा तयार पारिएको छ । तर, निर्माण टिमले बलिउड चलचित्र ‘ओम शान्ति ओम’ को नक्कल गरेर गीत तयार नपारेको दाबी गरेको छ ।

चलचित्रको कथाको मागअनुसार गीतमा नेपाली कलाकारहरुलाई प्रस्तुत गरिएको निर्देशक साकार पन्तले जानकारी दिए । गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर छ । दीपक शर्माको संगीत रहेको गीतको शब्द आनन्द अधिकारीले सिर्जेका हुन् । लोक शैलीमा तयार पारिएको गीतको अडियो बलियो छ ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मासँगै दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, नम्रता श्रेष्ठ, शिवहरी पौडेल, बसुन्धरा भुषाल, भुवन चन्द, दिनेश डिसी, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, नविन के. भट्टराई, नितेश जंग कुँवर, नीर शाहलगायत फिचर्ड छन् । बिहेको माहोलमा गीत खिचिएको छ ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर चलचित्र निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा चलचित्र निर्माण भएको बताइएको छ ।

रवि सायमीले खिचेको चलचित्रको कथा सन्तोष सन्त र साकार पन्तको हो । भने, सन्दीप किस्नाको पटकथा छ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै अभिनय रहेको चलचित्रमा केकी, ऋचा र रिमासँगै जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतको पनि अभिनय छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu