सामाजिक, राजनीतिक र चलचित्रका मुद्धामा बोल्न नहिचकिचाउने अधिनेत्री रेखा थापा गएको हप्ता एक महोत्सवमा सहभागी हुन् दाङ पुगेकी थिइन् । महोत्सवमा सहभागी हुनुअघि चलचित्र पत्रकार संघ, नेपाल दाङ शाखाले आयोजना गरेको एक कार्यक्रममा रेखाले समाजमा महिलाको अवस्था र चलचित्र क्षेत्रका विभिन्न विषयमा आफ्नो विचार राखिन् । उनले आफूले बनाउने चलचित्र अभियान रहेको बताइन् ।
उनले आफूलाई सिंगल थिएटरको अभिनेत्री भन्ने गरेकोप्रति असन्तुष्टि जनाइन् । अभिनेत्री रेखाले भनिन्, ‘अहिले देशभर सिंगल थिएटर मल्टीप्लेक्समा रुपान्तरित भैसकेका छन् । विदेशतिर अहिले पनि पुराना नायकहरुलाई यो त मेरो फ्यान भन्छौं । हाम्रो बुबाको उमेरका सलमान खान र अक्षय कुमार बुढो नहुने अनि यहाँ चाहिँ निखिल उप्रेती बुढो हुने ? विराज भट्ट एक्सपायरी हुने ?’

उनी कुनै पनि कलाकारलाई सिंगल थिएटर र मल्टीप्लेक्सको रुपमा छुट्याउनु ‘बायसनेस’ र ‘इगो’ रहेको बताउँछिन् । चलचित्र ‘मालिका’ को छायांकनको क्रममा हल नै नभएको ठाउँ कर्णालीमा आफूलाई दर्शकले चिनेको देखेर आश्चर्यमा परेको सम्झँदै अभिनेत्री रेखाले थपिन्, ‘एउटा नाम परिचित हुन १५/२० वर्ष लाग्नसक्छ । यहाँ त एकै वर्षमा आफूलाई राजेश हमाल ठान्छन् ।’
रेखाको यो झटारो अहिलेका चल्तीका अभिनेता/अभिनेत्रीप्रति रहेको बुझ्न गाह्रो पर्दैन । अचेल दुई/तीनवटा चलचित्र हिट भएपछि अभिनेता/अभिनेत्रीले आफूलाई राजेश हमाल वा करिश्मा मानन्धरभन्दा ठूलो ठान्दछन् । नेपाली चलचित्रमा प्रयोजित प्रशंसा र आत्मरतीमा रमाउने कलाकारको भीड सानो छैन । विशेषगरि यो अहिलेका चल्तीका कलाकारहरुमा बढी देख्न सकिन्छ ।
चलचित्रमा प्रवेश गरेको छोटो समयमा नै आफूलाई सबैभन्दा ठूलो सम्झने प्रवृत्ति हाबी हुनु आत्मरतीमा रमाउनुभन्दा बाहेक अरु केही नभएको रेखा थापाको तर्क छ । उनी अगाडि भन्छिन्, ‘यदी चलचित्र क्षेत्रमा ठूलो र उद्दार मन या सृजनाको पराकाष्टको दिमाग र चेतना हुने हो भने सृजनामा लागेको मान्छेहरु तपश्वी जस्तो हुन्छ ।’ अभिनेत्री रेखा अहिले नयाँ चलचित्रको तयारीमा छिन् ।




