बलिउड चलचित्रहरुको विश्वबजार विस्तारै फैलिरहेको छ । आजभोली विश्वभर बलिउड चलचित्रहरुले धेरै कलेक्सन गरिरहेको अवस्था छ । यतिबेला चिनियाँ बजार बलिउड चलचित्रका लागि राम्रो बजार बनिरहेको छ, जहाँ दर्शकहरुले बलिउड चलचित्रलाई निकै साथ दिएको देखिँदै आएको छ । चीनमा अहिलेसम्म देखिएको परिस्थतीमा आमिर खानको चलचित्र सर्वाधिक चलेको र रुचाइएको छ ।
सीमा विवादका कारण चीन र भारतबीच राम्रो सम्बन्ध नहुँदा पनि बलिउड चलचित्रका लागि चीनको ढोका खुल्ला छ । तर, नेपाल र चीनबीच सुमधुर सम्बन्ध हुँदा पनि नेपाली चलचित्रले चीनमा प्रवेश पाएका छैनन् । अझ भनौं, चीनमा प्रदर्शनका लागि प्रयास नै गरिएको छैन । निर्देशक दीपेन्द्र के. खनाल भने आफू निर्देशित चलचित्र ‘आमा’ लाई चीनमा प्रदर्शन गर्ने प्रयासमा जुटेका छन् ।

उनले भने- ‘अब हामीले चाइनामा बजार खोज्न आवश्यक छ । बलिउडका चलचित्रले त्यहाँ कब्जा जमाइसकेको अवस्था छ । कन्टेन्ट राम्रो भए चीनमा चलचित्र प्रदर्शन गर्न सकिन्छ । मैले ‘आमा’ चीनमा प्रदर्शनका लागि प्रयास गरिरहेको छु ।’ उनले अनलाइन स्ट्रीमिङ प्लेटफर्म नेटफ्लिक्सका लागि पनि चाँडै आफू प्रयास गर्ने सोचमा रहेको बताए ।
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘आमा’ लाई दर्शक र समीक्षकबाट उम्दा प्रतिक्रिया मिलेको छ । प्रदर्शनको दुई दिन ‘सेन्टी भाइरस’ का कारण व्यापारमा ठूलो असर परे पनि आइतबारबाट चलचित्रले हलमा दर्शकको चाप बढाउँदै लगेको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म लामो रेसको घोडा बन्ने देखिएको छ । समीक्षकले चलचित्रलाई ‘अब्बल’ भनेका छन् ।




