अहिलेका हटकेक अभिनेता अभिनेता अनमोल केसीले ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको चलचित्र ‘पारस’ मा काम गर्न लागेको खबर छ । उनी यो चलचित्र कुनै हालतमा हातबाट उम्काउने पक्षमा नभएको गोप्य स्रोतले जानकारी दिएको छ । अनमोल र उनका पिता भुवन केसी दुवैलाई चलचित्रको स्क्रिप्ट ज्यादै मन परेको छ । तर, विभिन्न कारणले कागजी सम्झौता हुन सकेको छैन ।
यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोचक कुरा चाहिँ के छ भने उनैले लेखेको चलचित्र ‘ब्याचलर बन्टी’ को स्क्रिप्ट चित्त नबुझेर अनमोलले छाडेका थिए । अब, उनै प्रदीपले लेखेको फिल्म ‘पारस’ को स्क्रिप्ट अनमोललाई हदै मन परेको छ । तर, निर्माता वाग्लेले पहिलो पटक निर्देशन गर्न लागेका कारण उनले चलचित्र गर्ने वा नगर्ने भन्ने निर्णय लिन सकेका छैनन् ।

गोप्य स्रोतले दिएको जानकारी अनुसार, भुवन केसीले निर्देशनको जिम्मेवारी अरुलाई दिएर निर्माता माधव वाग्लेलाई निर्माताको रुपमा बस्न आग्रह गरेका छन् । तर, निर्माता वाग्ले आफूले चलचित्र निर्देशन गर्ने घोषणा गरिसकेका कारण पछाडि नहट्ने अडानमा छन् । अनमोल र निर्माता वाग्लेबीच कागजी सम्झौता हुन नसक्नुको मूल जड यसैलाई मानिएको छ ।
निर्माता वाग्ले आफैं चलचित्र निर्देशन गर्ने अडानबाट टसमस नभएपछि निर्माता भुवन केसीले अनमोललाई पारिश्रमिक दिएर आफूलाई निर्मातामा राख्नुपर्ने र आफ्ना केही विश्वासिला व्यक्तिलाई असिस्टेन्ट डाइरेक्टरको जिम्मेवारी दिनुपर्ने सर्त निर्माता वाग्लेसमक्ष राखेको स्रोत बताउँछ । भुवनको यो सर्तलाई लिएर निर्माता माधव वाग्ले सकारात्मक रहेको बुझिएको छ ।




