शुक्रवारबाट प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ यही फागुन ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ टिमले राजधानीको कुमारी हलमा पुगेर हेरेको छ । निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहले एकसाथ चलचित्र हेरेका हुन् । उनीहरुलाई चलचित्र निकै मन परेको छ । र, दर्शकलाई हेरिदिन आग्रह गरेका छन् ।
चलचित्र हेरेपछि निर्देशक थापा भावुक हुँदै निस्किएका थिए । उनले चलचित्र हेरुन्जेल आँशु थामे पनि बाहिर निस्कँदा अभिनेत्री सुरक्षा पन्तलाई देखेपछि आँशु थाम्न नसकेको बताए । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्देशक खनालको तारिफमा भने- ‘यस्तो विषयमा जो कोहीले चलचित्र बनाउने हिम्मत नै गर्दैन । म आफैं पनि यस्तो विषयमा चलचित्र बनाउने हिम्मत गर्न सक्दिनँ ।’

‘आमा’, निर्देशक खनाल र चलचित्रकर्मीको मात्र नभएर हरेक घरको चलचित्र रहेको उनको भनाई छ । उनले यो चलचित्र नछुटाइ हेरिदिन दर्शकलाई आग्रह गरे । अभिनेत्री पूजा शर्मालाई पनि चलचित्रले निकै छोएछ । उनले दुवै हात जोडेर सबै दर्शकलाई चलचित्र हेरिदिन आग्रह गरिन् । ‘म पहिलो पटक कुनै चलचित्र हेरेपछि हात जोडेर भन्दैछु, यो चलचित्र सबैले हेरिदिनुहोला,’ उनले भनिन् ।
‘हरेक व्यक्तिले हेर्नुपर्ने चलचित्र हो यो । चलचित्रमा देखाइएको हस्पिटलले दिने दुःख मैले पनि भोगेको छु । यदी तपाईंहरुलाई यो थाहा छैन भने आफू जोगिनका लागि पनि ‘आमा’ हेर्नुहोला,’ अभिनेत्री पूजाले अगाडि थपिन्, ‘चलचित्रमा केही कुरा पनि फेक छैन । एकदमै सत्य घटनामा चलचित्र बनेको छ ।’ उनले अभिनेत्री सुरक्षाको अभिनयको प्रशंसा गर्न आफूसँग शब्द नभएको बताइन् ।
त्यस्तै, अभिनेता पल शाहले चलचित्र निकै मर्मस्पर्शी बनेको बताए । चलचित्रमा आफूलाई रिलेट गरेको बताउँदै उनले भने, ‘मध्यमवर्गीय परिवारमा आउने समस्या, हस्पिटलभित्र हुने लुट, आमा र छोरीको सम्बन्धलाई चलचित्रमा निकै मनछुने ढंगबाट देखाइएको छ । चलचित्र मलाई साह्रै मनपर्यो ।’ ‘आमा’ मा सुरक्षा पन्त र मिथिला शर्मा आमा-छोरीको भूमिकामा छन् ।




